Logo

ओलीजीको लागि यो अन्तिम मौका हो : मनिषा कोइराला (भिडियोसहित)



चर्चित बलिउड नायिका मनिषा कोइरालाको अबको एकमात्रै चाहना भनेको ‘क्वालिटी लाईफ’ जीउने रहेको छ । उनी यतिवेला नेपालमा छिन् । उनी कहिले मुम्बई, कहिले काठमाडौं बस्छिन् । उनको आवतजावत चलिरहेकै छ । नायिका कोइरालासँग पत्रकार ऋषि धमलाले विशेष अन्र्तवार्ता गरेका छन् । हिमालय टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘धमलाको हमलामा’ उनले रोचक कुराकानी गरेकी छिन् । कोइरालासँग धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अहिले कस्तो छ ?

एकदम ठीक छु ।
नयाँ जीवनको नयाँ योजनाहरु के छन् ?

‘क्वालिटि लाईफ’ जीउने । खुशीको जीवन जिउने मेरो चाहना छ ।

नेपालमा क्यान्सर पीडितहरुको संख्या धेरै छ, कसरी बच्ने तपाईको अनुभवले के भन्छ ?

मैले यसका बारेमा विभिन्न सचेतनाका कार्यक्रमहरु गर्दै आईरहेकी छु । क्यान्सर कसैलाई नहोस् । यो निक्कै डरलाग्दो रोग हो । यो रोगको उपचार महंगो पनि उत्तिकै छ ।

क्यान्सरबाट बच्नको लागि के–के गर्नुपर्छ ?

क्यान्सर हुन नदिनको लागि अपनाउनुपर्छ । स्वास्थ्यका बारेमा जनचेतना फैलाउनुपर्यो । सरकारले यसका बारेमा विभिन्न कार्यक्रम गर्नुपर्यो । वातावरणीय प्रभावका कारण विभिन्न रोगहरु सर्ने हुन । मोबाईलमा अत्यधिक ‘रेडियन्स’ आईरहेका हुन्छन । यस्तो धेरै कुराहरुले क्यान्सर हुन्छ । खाना के खाने ? कहाँ घुम्ने ? कहाँ जाने ? त्यसको बारमो व्यक्तिमा जानकारी हुनुपर्छ । करेशा बारीमा फलेका अर्गानिक सागपात खानुपर्यो । हिँड्नुपर्यो । व्यायम गर्नुपर्यो । बाहिरबाट ल्याईएको कुरामा विश्वास हुँदैन । सकभर सहकारी खानेकुराहरु खानुपर्यो ।

क्यान्सर निको हुने रोग हो नि, होईन र?

हो । तर निक्कै महँगो छ । निको हुन्छ भनेर प्रमाणित भईसकेको छ । हाम्रो नेपालमै पाईन्छ, ट्याक्सेस बोगटा भन्ने रुखबाट ट्याक्सल भन्ने दवाई हुन्छ ।

हामीकहाँ त्यसको सदुपयोग छैन् नि ?

छैन् । उपयोग गर्नुपर्छ । पहिलो कुरा स्वस्थ रहनको लागि तयार रहनुपर्छ । त्यसपछि सरकारले हाम्रो मुलुकमा भएका तमाम प्रकारका औषधीमुलक जडिबुटीहरु छन् त्यसको उपभोग गर्ने गर्नुपर्छ । नेपालमा क्यान्सरको उपचार सस्तो बन्छ ।

सरकारले यसको लागि काम गर्न सक्छ त ?

किन नसक्नु ? सबै एक हुने हो भने । हाम्रो देशमा रहेका स्रोतको उचित प्रयोग गर्नुपर्छ । केटाकेटीहरुलाई क्यान्सर हुँदा ८० प्रतिशत निको हुन्छ । क्यान्सर भईसकेपछि मानवीय क्षमताले सकेसम्म हामी बाँच्ने हो । जसरी सकिन्छ जीवनलाई जोगाउनको लागि आफूले सक्दो गर्नुपर्छ । सकारात्मक सोच्नुपर्छ । उपचार, राम्रो कुरा सुन्ने, मन प्रसन्न हुने स्थानमा जाने, डरलाई हटाउने, खुशि रहने, हरेक कुरामा सन्तुलन राख्ने काम मान्छेबाट हुन जरुरी छ ।

अब म तपाईको अथवा कोईराला परिवारको कुरा गर्छु, क्यान्सर रोग वंशाणु नै हो त ?

हो । हाम्रो परिवारका सदस्यमा भएको थियो भन्दैमा हुन्छ भन्ने हुँदैन । शारिरिक रुपमा, मानसिक रुपमा, स्वस्थ हुन सक्नुपर्छ । पहिलो कुरा यही हो । हाम्रो परिवारका सदस्यहरु अलि पाको उमेरमा नै बित्नुभयो । मेरो उमेर धेरै कम छ नि ।

तपाई फेरि चलचित्रमा फर्किनुहुन्छ ?

यदि मेरो उमेर अनुसार, मलाई सुहाउँदो खालको भूमिकाको अफर आयो भने म खेल्न सक्छु । तर मेरो पूरै ध्यान बगैंचामा छ । म बाँकी जीवन खुशिकासाथ बाँच्न चाहन्छु । राम्रो अवरसमा म काम गर्न तयार रहने मुडमा छु । मैले गर्न सक्ने, मलाई सुहाँउदो रोलमा काम गर्छु । च्यालेन्ज खालको रोल होस् । नेपाली वा भारतीय जुन चलचित्रमा पनि म आफ्नो उपस्थिति देखाउन सक्छु । छोटो समयको रोल खेल्न सक्छु । मलाई किताब पढ्न मन लाग्छ । पढ्छु । खाना खाएर सुत्छु ।

उसो भए दिउँसो कति घण्टा सुत्नुहुन्छ ?

यो मेरो जीवन दोस्रो जीवन हो । मैले दोस्रोपटक यो जीवनलाई पाएकी छु । त्यसैले म जतिपनि सुत्छु । जतिबेला म ब्यूँझिन्छु । बगैंचामा जान्छु । शान्त रहन चाहन्छु । म भागदौडभन्दा पर पुगिसकेकी छु ।

भागदौडले जीवनलाई सफलतामा पुर्याउँछ या के गर्छ ?

मेरो अनुरोध त जीवनलाई बुझेर मात्रै कुनैपनि कार्य गर्नुहोस भन्ने हो । बाटो सबै राम्रा हुन्छन् । बाटोमा कसरी हिँड्ने भन्ने कुरा आफूमा निर्भर गर्छ ।

नेपाली चलचित्रको स्थान अहिले जहाँ छ, यसबाट तपाई सन्तुष्ट हुनुहुन्छ ?

म एकदम खुशि छु । धेरै राम्रो विकास भएको छ । चलचित्रमा यूवाहरुको उपस्थिति निक्कै राम्रो छ । व्यवसायिक फिल्महरुको आफ्नो विषेशता छन । नेपाली चलचित्रहरु राम्रा छन् ।

तर अहिलेसम्म स्तरीय चलचित्र बन्न सकेन भन्ने गुनासो छ नि ?

त्यो गलत हो । कति चलेका छन् । ‘छक्कापञ्चा’ कति चलेको चलचित्र हो । मैले ‘सर्ट मुभि’ मैले हेरेको छु । आफ्नै माटोका चलचित्र बनेका छन् । ती चलचित्रहरु यूरोप वा अमेरीकातिर हेर्नेहरुको संख्या कम छैन ।

भारतीय बजारमा नेपाली चलचित्र जान सकेन नि ?

होईन, त्यो झन् गलत हो । भारतीय चलचित्र र नेपाली चलचित्रमा भिन्नता हुनुपर्छ । केही कुरा मिलेतापनि हाम्रो संस्कृति धेरै भिन्नता छ । भारतमै पनि बोम्बे अरु स्थानमा चलचित्र फरक छ । नेपाली चलचित्रले नेपाली माटो बोल्नुपर्छ । नेपाली संस्कृति बोल्नुपर्छ ।

पैसा कमाउनकै लागि निर्माण गर्छन् भन्ने आरोप पनि छ नि ?

केही चलचित्रका निर्माणकर्ताले त्यसो गरे भन्दैमा सबैलाई एउटै स्थानमा राख्नुहुँदैन । समाजको चित्र, देशको संस्कृति बोल्नुपर्छ । ‘अर्गानिक’ चलचित्र निमार्ण गर्नुपर्छ ।

नेपाली चलचित्रलाई भारतीय बजारमा लैजानको लागि के गर्नुपर्छ ?

चलचित्रको कुनै घेरा हुँदैन । राम्रो चलचित्रलाई जसलेपनि हेर्छ । जहाँपनि हेर्न सक्छ ।

भारतीय चलचित्र नेपाली दर्शकहरुले हेर्छन् तर नेपाली चलचित्रहरु भारतमा हेर्दैनन् । नेपाली चलचित्रलाई भारतमा हेर्नको लागि तपाईको भूमिका के हुन्छ ?

यसमा मेरो प्रयास रहन्छ । अर्गानिक कथा, अर्गानिक सन्देश दिनेखालका चलचित्रहरुको निर्माण गर्नु पहिलो कार्यभार हाम्रै हो ।

नेपाल–भारतबीचको सम्बन्धमा धार्मिक क्षेत्रको भूमिका के हुनसक्छ ?

धरै राम्रो भूमिका छ । नेपाल–भारतबीचको सम्बन्ध धार्मिक–साँस्कृतिक रुपमा पनि राम्रो रहनुपर्छ ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल भयो भनेर भन्न सक्नुहुन्छ ?

म कुनै राजनीतिज्ञ होईन । तर साधारणतया मैले बुझेको भनेको छिमेकी देशहरुको बीचमा समान दुरी, समान हैसियतका आधारमा सम्बन्ध कायम रहनुपर्छ । हाम्रो देशको आफ्नै सँस्कृति छ । हाम्रो आफ्नै प्रकारको ईतिहास छ । भारत, चीन अन्य देशसँग नेपालले राम्रो सम्बन्ध राख्नुपर्छ । हाम्रो नेपाली राजनीतिमा कामभन्दा बढि भाषण धेरै हुन्छ । हामी नेपालीले स्वाभिमानपूर्वक बाँच्न पाउँनुपर्छ ।

तपाई अब राजनीतिमा नआउने ?

म नआउने । मलाई सुहाउँदैन । मैले चाहेरपनि आउन सक्दिन ।

कोईराला परिवारको उत्तराधिकारी को हुन्छ ?

कोही होला, म छैन् ।

कोईराला परिवारको राजनीतिमा राम्रो छ नि ?

म यसका बारेमा केही पनि भन्न चाहन्न । जुनसकै मान्छेले पनि यो देशको भलाई चाहन सक्छ । हामीले यो देशको सम्मान गर्न सकौं त्यही हो । जसको निर्णयले राष्ट्रको शिर उँचो राख्न सकोस् । म यही चाहन्छु ।

केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ उहाँले हाम्रो देशको समस्या समाधान गर्न सक्नुहोला ?

नेपाली जनताले उहाँबाट धेरै आशा गरेका थिए, र छन् पनि । खासमा उहाँले व्यबहारमा काम गर्न सक्नुभएको छैन् । जनताको आशा अपेक्षा पूरा गर्नतिर उहाँले लाग्नुपर्छ । पछिल्लो समय मैले कसैलाई पनि भेटेकी छैन।

को हो त उसो भए हाम्रो देशको असल नेता ?

त्यो कामले देखाउने कुरा हो । बोलीमा विश्वास गर्नुको कारण हामीले दुःख पाउनुपर्छ । कुनै व्यक्ति आँफै नेता बन्दैन । परिस्थितिले व्यक्ति नेता बन्ने गर्दछ । समयलाई नेताले बुझ्न सक्नुपर्छ । नेताको निर्णयले देश र जनतालाई फाईदा हुने खालको निर्णय हुनुपर्छ । अहिलेका प्रधानमन्त्रीले गर्न सक्नुपर्छ ।
नेपाली समाजको उन्नयनको लागि र आफ्नो स्वास्थ्यलाई ख्याल राखेर काम गर्नु आजको आवश्यकत्ता छ । बोलेको कुरा गर्नैपर्छ । आफूले बोलेका कुराहरु व्यबहारमा लागु नभएसम्म मलाई तनाव हुन्छ । मेरो स्वास्थ्यले आराम चाहन्छ । नेपाली समाज र सांस्कृतिक पक्षलाई ध्यान राखेर काम गर्ने हो ।

अब नोपलमै बस्नुहुन्छ वा भारतमा ?

भारतमा पनि गैरहेको हुन्छु । धेरै समय यतै छु । यो वर्ष दुईवटा चलचित्रको निर्माणमा हस्ताक्षर गरेकी छु । क्यान्सरका बारेमा धरै स्थान्मा कार्यक्रम पनि छन् ।

उसो भए यहाँमा नेपाली चलचित्रमा फेरी अभिनय गर्ने सोच छ ?

किन नहुने ? अवश्य ।

नयाँ जीवन र पहिलेको जीवनलाई कसरी सम्झिनुहुन्छ ?

म पछाडि फर्किँदैन । म चाहन्न कि विगतका कुराहरु सम्झेर म दुःखुँ । २० वर्षको ऋषि धमला र ४० वर्षको धमला एउटै हुन्छ ? त्यसैमा मैले त दोस्रो जीवन पाएको मानिस हुँ । ममा धेरै भिन्नता छन् । पहिलेको र अहिलेको मनिषामा धेरै फरक छ ।

पहिले खानपानमा ध्यान दिनुहुँदैन थियो नि ?

हो, पहिले त्यस्तो थियो आज फरक छ ।

उसो विवाहलाई पनि सम्झन चाहानु हुन्न ?

म सम्झिन चाँहन्न । यस्ता कुरा नसोध्नुस् ।

त्यतिबेला बिवाह गरेर गल्ति गरे भन्ने लाग्दैन ?

यो कुरा नै नगर्नुस् । म यस्ता कुराहरु सम्झिन चाहँन्न ।

तपाईको नजरमा प्रेम के हो ?

प्रेम आफ्न्त, साथीहरु, प्रेमी–प्रेमीका बीचको सम्बन्ध नै प्रेम हो । सम्मान र विश्वास नै प्रेम हो । सम्मान र विश्वास, यी दुई कुराहरु नभएको प्रेम प्रेम नै होईन ।

अहिले तपाईलाई माया गर्ने घर परिवार मात्रै हो ?

हो । दर्शकले माया गर्नुहुन्छ ।

माया गर्ने पुरुषको खाँचो छैन् ?

छैन् ।



प्रतिक्रिया दिनुहोस्