Logo

कांग्रेसका नेता/कार्यकर्ताहरुले देउवालाई ‘किक’ गर्नुपर्छ



पुरञ्जन आचार्य-नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता ऐतिहासिक छ । एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको सफलताको कामना गर्दछु । अब जनताको सेवा गर्ने सयम आएको छ ।

अहिले नेपालमा वामपन्थीहरुको जनमत प्रधावशाली बनेको छ । तीनै तहको चुनावपछि स्थानीय तहसम्म वामपन्थीकै बहुमतसहितको सरकार छ । यो कांग्रेसका लागि ठूलो चुनौति हो । कांग्रेसको सिद्धान्त, मूल्य र पद्धतिमाथिको चुनौति हो ।

भोलीका दिनमा कांग्रेसले आफ्नो औचित्य र सान्दर्भिकता जोगाउने हो भने अहिलेको जस्तो कुखुरा वा हाँसको चालले हुँदैन । अब कांग्रेसभित्र पनि केही मन्थन, दबाब र चिन्तन सुरु भएको छ । वामपन्थीतिर गएको जनमत आफूतिर कसरी ल्याउने भन्ने चुनौति कांग्रेसलाई छ ।

शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले कम्युनिष्टको चुनौति सामना गर्न सक्दैन । सम्भव छैन । मुलुकमा उठेको एजेण्डा र अन्तराष्ट्रिय परिवेशमा समायानुकल अगाडि बढ्नका लागि देउवा नेतृत्वको कांग्रेस असफल हुन्छ ।

सभापति देउवा मात्रै होइन, महामन्त्री डा. शशांक कोइराला पनि सक्षम छैनन् । शीर्ष तहका अरु नेताहरुले पनि राजिनामा दिनुपर्छ । अहिलेको नेतृत्वले नेपालका जनताकाबीचमा उठिरहेका कुराहरुलाई सम्बोधन गर्न सक्दैन । कम्युनिष्टको बहुमतलाई चुनौति दिएर आगामी दिनमा वा पाँच वर्षमा सत्तामा पुग्नका लागि देउवा नेतृत्वको कांग्रेस तयार हुन सक्दैन । राजनीतिक पार्टी हो भने यसले आफूलाई तयार गर्न सक्नुपर्छ । नत्र भने कांग्रेस थप कमजोर हुन्छ ।

कम्युनिष्टहरुलाई टक्कर दिन सक्ने नेता नभएका होइनन् । तर अहिलेको नेतृत्व सक्षम छैन । त्यसैले देउवा लगायतका नेताहरुले खुरुक्क राजिनामा दिएर नयाँ पुस्तालाई नेतृत्व दिने हो भने चुनौतिको सामना गर्न सक्छ । विशेष महाधिवेशन बोलाएर देउवाले नेतृत्व छोड्नपर्छ ।
शेरबहादुर देउवाले नैतिकताको आधारमा अहिलेको केन्द्रिय समिति विघटन गरेर अधिवेशनका लागि बाटो खोल्नुपर्छ । यो काम जति छिटो गर्यो त्यति नै छिटो कांग्रेसले पुनर्ताजगी पाउँछ ।

देउवा आफै तयार हुनुहुन्न भने कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुकहरुले दबाब दिएर उहाँलाई किक गर्नुपर्छ ।

देउवाको कार्यकालमा कम्युनिष्टहरुले जे चाह्यो त्यही हुने अवस्था आएको छ । कांग्रेसको मूल्य मान्यता र जनतासँगको विश्वास टुट्दै गएको छ । देउवाले पार्टी त कब्जा गर्नुभयो, तर देश त कम्युनिष्टको हातमा छोड्नुभयो ।

त्यसैले कांग्रेसका कार्यकर्ता र शुभेच्छुकको पनि देउवालाई हटाउने जिम्मेवारी हो । सामान्य पार्टी बनेर बस्ने कि जनताको भरोसाको पार्टी बन्ने ? जनताको भरोसा र विश्वासको पार्टी बनाउने हो भने पूर्ण रुपमा नेतृत्व परिवर्तन गर्नुपर्छ । कांग्रेसका कार्यकर्ताले नेतृत्व परिवर्तन गर्न सक्दैनन् भने राजनीति गर्दिन भने हुन्छ । किनकी अलिहेको नेतृत्वले कांग्रेसलाई पुनर्जिवन दिनै सक्दैन । मेरो नेतृत्वमा कम्युनिष्टसँग लड्न सकिदैन भन्ने देउवालाई पनि थाहा छ ।

देउवाको नेतृत्व र नीति दुवैले हारेको छ । चुनावी तालमेलमा पनि असफल हुनुभयो । कम्युनिष्टले जित्यो भने अधिनायकवाद आउँछ भनेर पनि चुक्नुभयो । न रणनीति काम लाग्यो न सिद्धान्त जोगाउन सक्नुभयो । सभापति र महामन्त्रीलाई कांग्रेस कार्यकर्ताहरुले के उद्देश्यले जिताए ? कांग्रेस डुबाउनका लागि देउवा र कोइरालालाई छानेको हो भने कार्यकर्तालाई धन्यवाद दिनुपर्छ । अहिलेको नेतृत्वले मुलुकको रुपान्तरणमा कुनै भूमिका खेल्न सक्दैन ।

देउवाको विकल्प तत्काल खोज्नुपर्छ । कांग्रेसलाई सफल नेतृत्व दिन सक्ने नेता पार्टीभित्रै छन् । अहिले पार्टी सुधारको समय पनि मिलेको छ । अब पाँच वर्ष कांग्रेस सरकारमा जान नसक्ने भएकाले यो अवधिमा सुधारको बाटो पहिल्याउनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्