ललितपुर, ६ जेठ । महालक्ष्मी नगरपालिका वडा नम्बर ८ को दक्षिणी क्षेत्रका जनताले तत्काल वडा छुट्याउन पहल गर्न दबाब शुरू गरेका छन् । वडा छुट्याउने पहल गर्न कमिटिका तर्फबाट संयोजक विवेककुमार कार्कीको नेतृत्वमा गएका उनीहरूले आइतबार विहानै नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई भेटी तीन हजार हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै मेयर श्रेष्ठले जनताको जायज मागको सम्बोधनका लागि आफू सक्रियतापूर्वक लाग्ने बताए । यसका लागि विधि र नियम अनुसार अगाडि बढ्ने उनको भनाई थियो ।
स्थानीय निकायको पुर्नसंरचना गर्दा अलग वडा रहेको उक्त क्षेत्र लुभुसँग गाभिएपछि स्थानीयवासी असन्तुष्ट रहँदै आएका थिए । स्थानीय निकायको भौगोलिक र जनसंख्याका आधारमा संरचना नमिल्दा वडा नम्बर ८ सबैभन्दा ठूलो क्षेत्रफलसहितको बढी जनसंख्या र मतदाता रहेको क्षेत्र बनेको छ । वडा नम्बर ८ को दक्षिणी क्षेत्र वडाको कुल भूभागको ५५ प्रतिशत र जनसंख्याको झण्डै ४० प्रतिशत रहेको क्षेत्र हो । गएको चुनावमा उक्त क्षेत्रमा कुल दुई हजार मतदाता रहेकोमा १३ सय मत खसेको थियो । वडा नम्बर ८ मा मात्र झण्डै ५ हजार मत खसेको थियो ।
दश हजारभन्दा माथि जनसंख्या रहेको लुभु, शंखादेवी, चसिडोललगायतको क्षेत्र एउटामात्र वडा रहेकोमा महालक्ष्मी नगरपालिकाभित्र एक हजार र तीन हजारभन्दा कम जनसंख्या रहेका क्षेत्र अलग वडा रहेका छन् । जसका कारण लुभुको दक्षिणतर्फको शंखादेवी र बिसनडोल क्षेत्रका जनता मर्कामा परेका छन् ।
थप जानकारीका लागि विवेककुमार कार्की
संयोजक, महालक्ष्मी नगरपालिका ८ को वडा छुट्याउने अभियान
९८५१०३३९९२
ज्ञापनपत्र तल उल्लेख गरिएको छ
श्रीमान् प्रमुखज्यू,
महालक्ष्मी नगरपालिका, ललितपुर ।
विषयः वडा छुट्याउन पहल गर्नेबारे ज्ञापत्र पत्र ।
महोदय,
नागरिकको अधिकार सुनिश्चितताका लागि जनताले पटक पटक संघर्ष गर्दा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा आइपुगेको छ । जनताले न्याय, समानता र विकासको फलको समुचित् बाँडफाँडको आकांक्षा राखेका छन् । जनताको घर दैलोमा सेवा पुग्ने गरी स्थानीय निकाय अधिकारसम्पन्न भएर तदनुरुपको संरचनाहरू बनेका छन् । तथापि, स्थानीय निकायको पुर्नसंरचनाका दौरान राज्यबाट कमी कमजोरी हुँदा समस्याहरू आएका छन् । समस्याहरूको समाधानमा नागरिक देखि राज्यको नीतिनिर्माण तहमा रहनेसम्मको भूमिका अपरिहार्य छ । यो सचेत नागरिकको कर्तव्य पनि हो । स्थानीय तहको संरचना बनाउँदा राज्यबाट त्रुटीहरू भएको नीतिनिर्माताहरूले समेत स्वीकारिसकेका छन् । विशेषगरी नगरपालिका र गाउँपालिकाहरूको वडाको संरचना बनाउँदा त्रुटीहरू भएका छन् । जसका कारण विकास निर्माणमा बजेटको बाँडफाँड देखि कतिपय कामकारबाहीमा नकारात्मक असरहरू परिरहेका छन् । जुन महालक्ष्मी नगरपालिकामा समेत देखिएको सर्वविदितै छ ।
जनसंख्या, भूगोल, स्रोत, साधान, सामाजिक अवस्था, आदि समेतलाई मध्यनजर गरी वडाहरू बनाउँदा महालक्ष्मी नगरपालिकाको वडा नम्बर ८ मा निकै त्रुटी भएको छ । नगरपालिकाको अन्य वडाको तुलना गर्दा जनसंख्या, भूगोल, आदिलाई आधार मान्दा पनि यस वडा सबैभन्दा ठूलो छ । जसका कारण बजेट बाँडफाँड र वडा संचालन असहज छ । त्यसमाथि पनि वडाको कुल भूभागको ५५ प्रतिशत भूभाग र कुल जनसंख्याको ३५ प्रतिशत रहेको क्षेत्र सधै अन्यायमा पर्दै आएको छ । लुभु गाविस हुँदा कुल ९ वडामध्ये एउटामात्र वडा रहेको र नगरपालिका बनेपछि छुट्टै वडा बनेकोमा पुनःसंरचनाका क्रममा लुभु, चसिडोल सहित उक्त क्षेत्र एउटै वडामा समाहित हुँदा स्थानीयवासी निकै असन्तुष्ट भएका थिए । आफूहरूमाथि नगरपालिकाको संरचनाका क्रममा पटक पटक अन्याय भएकोमा बिसनडोल, शंखादेवी, चारघरे, ढुङ्गेकोट, नेपालचौर, गणेशनाथ, महन्थ गाउँ, फूलबारीलगायतका बासिन्दाले प्रत्येक उम्मेदवारसँग चुनावका समयमा छुट्टै वडा बनाउन पहल गर्ने प्रतिवद्धता माग गरेका थिए । जस अनुसार हरेक उम्मेदवारले यसका लागि पहल गर्ने प्रतिवद्धता गर्नुभयो । स्थानीयवासी सबैले उम्मेदवारहरूबाट सकारात्मक पहल हुने आशामा उत्साहपूर्वक मतदान समेत गरे ।
महालक्ष्मी नगरपालिकामा राजनीतिक नेतृत्वले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भइसकेको छ । तैपनि, हामी (नगरपालिका घोषणा हुँदा वडा नम्बर ६) का बासिन्दाले वडा छुट्याउन कुनै पहल नभइरहेको पायौं । तसर्थ, वडा छुट्याउन विधिसम्मत तरिकाले अगाडि बढ्न यहाँले विशेष पहल गर्नुहुने आशा राख्दै बिसनडोल, शंखादेवी, चारघरे, ढुङ्गेकोट, नेपालचौर, गणेशनाथ, महन्थ गाउँ, फूलबारीटोलसहित महालक्ष्मी नगरपालिका वडा नम्बर ८ को दक्षिण क्षेत्र लुभु खोला पारी देखि गोदावरी खोला वारीका सम्पूर्ण बालिग नागरिकको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छौं । नगरपालिकाले हाम्रो मागको अबिलम्ब सुनुवाई गरी वडा छुट्याउने पहल गरेमा आभारी हुनेछौं ।
हामी स्थानीयवासी विधि, विधान र स्थानीय निकायको नियमावली अनुसार हुने कामकारबाहीको पक्षमा छौं । तर,राज्यबाट नगरपालिकाको वडा निर्माणमा भएको त्रुटी अबिलम्ब छुट्याउनुपर्ने माग राज्यको हितकै लागि गरेका छौं । विकास निर्माणमा बजेटको न्यायोचित् बाँडफाँड हुनुपर्छ । महालक्ष्मी नगरपालिकाको वडाको संरचना जसरी निर्माण गरिएको छ त्यसले विकास बजेटको बाँडफाँड न्यायोचित् हुनसकिरहेको छैन । सबैप्रति समान व्यवहार र विकासको फल सबैले पाउने वातावरण निर्माण गर्नु हरेक नागरिकको कर्तव्य । नागरिकको कर्तव्य र धर्म सम्झेर हामी स्थानीयवासीले समानता र न्यायको लागि एकजुट भई अभियान थालेका हौं । हाम्रो अभियानमा यहाँको साथ र सहयोग रहने विश्वासका साथ वडा छुट्याउन तत्काल पहल थाली परिणाममुखी कार्य होस् । हाम्रो मागको उचित सुनुवाई हुनेमा पूर्ण आशावादी भएका छौं । यसप्रति बेवास्ता भएमा हाम्रो अभियान अझ सशक्त रुपमा बढ्ने स्पष्ट पार्न समेत चाहन्छौं ।
निवेदक
महालक्ष्मी नगरपालिका वडा नम्बर ८ को दक्षिणी भेगको लुभु खोला पारी गोदावरी खोला वारी (लुभु गाविस हुँदा वडा नम्बर ८) का सम्पूर्ण बासिन्दाहरू
नाम र हस्ताक्षरसहित