Logo

एकलौटी ढंगले गरेको पदाधिकारीको मनोनयन तत्काल फिर्ता हुनुपर्छ : महासचिव खतिवडा



काठमाडौं, ८ जेठ । नेपाल महिला संघमा देखिएको पछिल्लो विवादलाई आपसी समझदारीबाट टुंग्याउँनुपर्ने मागलाई बेवास्ता गरिएकोप्रति संघकी महासचिव धना खतिवडाले गम्भिर आपत्ति जनाएकी छिन् ।

संघकी महासचिव धना खतिवडाले संघको अध्यक्षले यही बैशाख २८ गते अत्यन्त स्वेच्छाचारी ढंगबाट केन्द्रीय पदाधिकारी र सदस्यहरुको मनोनयन गरेपश्चात बैशाख ३० गते नै आफूहरुले मर्यादित ढंगबाट सो निर्णयको पुनर्विचार गर्न आग्रह गरेपनि आफूहरुको आग्रहलाई बेवास्ता गरिएको गुनासो पोखेकी छिन् ।

खतिवडाद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘पार्टी नेतृत्वलाई समेत हाम्रो असहमतिकाबारे प्रष्ट पारिसकेका छौ । तर हाम्रो शालीन प्रस्तुतिलाई कमजोरी ठानी लोकतान्त्रिक मुल्य र मान्यताको समेत बेवास्ता गर्दै निरन्तर एकलौटी नियुक्तिको शृखंला जारी राखि अध्यक्ष स्वयम सांगठनिक जिम्मेवारीबाट च्यूत हुदै गएको देख्दा हामी दुःखित भएका छौ ।’

देशमा जनमतको दुरुपयोग गर्ने गरी सर्वसत्तावादी र निरंकुश चरित्र हावी भईरहेका बेला लोकतान्त्रिक संस्थाको सुदृढिकरण र आन्तरिक लोकतन्त्रको संस्थागत अभ्यास अपरिहार्य रहेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कम्युनिष्ट असहिष्णु व्यवहारकाविरुद्ध देशव्यापी जनचेतनाका लागि अभियान चलाउनुपर्ने बेला महिला संघजस्तो आम नेपाली महिलाको ढुकढुकीमा अव्यवहारिक र असहिष्णु प्रवृत्ति रोप्नु निन्दनीय भएको खतिवडाको भनाई छ ।

उनले अध्यक्षले अव्यवहारिक र एकलौटी ढंगले गरेको पदाधिकारी र केन्द्रिय सदस्यको मनोनयन तत्काल फिर्ता लिई सम्वादमार्फत आन्तरिक समस्या समाधानका लागि चुनौतीका साथ जोडदार माग गरेकी छिन् ।

जारी विज्ञप्तीमा भनिएको छ,‘लोकतन्त्रमा आफ्नो अधिकारको प्रयोग भनेको अरुको सम्मान पनि हो । तर राजनीतिक संस्कारलाई लत्याउँदै व्यक्तिवादी हठ र संकिर्ण स्वार्थमा लिप्त भएर सिमित व्यक्तिको अराजनीतिक फाइदाको खोजी गर्नु समग्र कार्यकर्ता र शुभचिन्तकको अपेक्षामा कुठाराघात गर्नु हो ।’

विज्ञप्तीमा थप भनिएको छ,‘आफ्नै मातृ पार्टीको नेतृत्वमा नयाँ संविधान जारी र तीनवटै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको ताजा इतिहास छ । संगसंगै, अत्यन्त भ्रामक, अराजनीतिक र सर्वसत्तावादउन्मुख बामधुव्रीकरणले लोकतन्त्रमाथि निम्त्याउने संकटका विरुद्ध लड्न तयारी अवस्थामा रहनु पर्ने देखिन्छ । त्यस माथि पनि निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित परिणामको विश्लेषण गर्दै सामाजिक मुद्दाको उठानसंगै आम जनताका बिच जानु पर्ने गम्भिर परिस्थिती निर्माण भएको छ । यसका लागि शालिन, सौम्य, बलियो र प्रभावशाली संगठन हाम्रो आवश्यकता हो ।’



प्रतिक्रिया दिनुहोस्