Logo

सुन काण्डमा २८ जना थुनामा, गोरेको बयानले नयाँ तरंग



काठमाडौं, ८ जेठ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेपछि गरिएको सामान्य सोधपुछबाट धेरै तथ्य फेला परेको छानबिन समितिले बताएको छ ।

स्रोतले दिएको जानकारी अनुसार सुन तस्करमा राजनीतिक दलका नेताहरुसमेत जोडिएका छन् । गोरेले दिएको प्रारम्भिक बयानमा दलका नेताहरुको नाम लिएको सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिका सदस्यहरुले खुलासा गरेका हुन् ।

मोरङ जिल्ला अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न भएको आरोपमा २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ ।

मोरङ जिल्ला अदालतमा गोरे सहित ६३ जनाका विरुद्ध सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुद्दा चलिरहेको छ। गत माघ ९ मा विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा गोरेले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको अभियोग लागेको छ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न भएको आरोप लागेका ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि आज थुनामा राख्न आदेश दिएको हो ।

यसैगरी अदालतले एक जनालाई तारेखमा र अर्का एक जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । तारेखमा रिहा हुनेमा प्रहरी जवान अमर थापा छन् भने हवल्दार विष्णु खड्कालाई रु १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्