Logo

‘नीति तथा कार्यक्रममा पुराना योजनालाई नयाँ भनेर प्रचार गरियो’



जेठ ९, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई योजनाको पुलिन्दाको संज्ञा दिएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमलाई पुरानै शैली र केन्द्रिकृत प्रणालीको सपना बाड्ने योजनाको पुलिन्दा मात्रै भएकोले संसदमा आवाज उठाउने निर्णय गरेको हो ।

नीति तथा कार्यक्रममा स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउने स्पष्ट खाका नभएको, एक वर्षभित्र कुनकुन क्षेत्रमा के कति उपलब्धी हुन्छ भन्ने रेखांकन गर्न नसकिएको आरोप कांग्रेसले लगाएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकासशरण महतले संघीय संरचनालाई नीति तथा कार्यक्रमले वेवास्ता गरेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै महतले सरकारको नीति तथा कार्यक्रममाथि पार्टीभित्र छलफल गरेर आवश्यकताअनुसार संसदमा कुरा उठाइने बताए ।

नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनको आधार नभएका कतिपय योजना समावेश गरिएको महतले बताए ।

प्रचारमुखी नीति तथा कार्यक्रम बनाएर व्यवहारमा कसरी उतार्ने भन्नेमा कुनै आधार तय नभएको उनको आरोप छ ।

नेपाली कांग्रेसले नीति तथा कार्यक्रमको विरोधका लागि विरोध मात्रै नगरिएको जिकिर गर्दै महतले विगतका सरकारले नै तय गरेका केही महत्वपूर्ण योजना अहिले नयाँ योजनाको रुपमा प्रचार गर्न खोजिएको आरोप लगाए ।

चुनावका बेला वृद्ध भत्ता मासिक पाँच हजार दिन्छु भनेर भोट मागे पनि अहिले यसबारे मौन देखिनुले प्रतिवद्धताप्रति वेवास्ता गरेको उनले बताए ।

दोहोरो अंकको आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आय दोब्बर बनाउने कुरा उल्लेख गरिए पनि उक्त लक्ष्य कसरी हासिल गर्ने भन्नेमा नीति तथा कार्यक्रमले स्पष्ट अधार तय नगरेको महतले बताए ।

सोमबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्