Logo

बालाधिकार सुनिश्चितताका लागि प्रतिबद्ध : मुख्यमन्त्री राउत



महेन्द्रनगर, धनुषा, ९ जेठ : प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले बालबालिकाको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको बालबालिकाको अधिकारसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री राउतले आगामी दिनमा ऐनकानूनको प्रभावकारी कार्यान्वयन प्रदेश सरकारका तर्फबाट गराइने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बालअधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि प्रदेश सरकार विषयमा तथा मन्त्रालयका सचिव डा किरण रुपाखेतीले बालअधिकारको संरक्षण र प्रवद्र्धनका लागि भविष्यको कार्यदिशा विषयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

रु १० लाख हस्तान्तरण

साउदीमा मुत्युदण्डको सजाय भोगिरहेका उमेश यादवको जीवन रक्षाका लागि हेल्प मधेशीले संकलन गरेको रु १० लाख मुख्यमन्त्रीको हातबाट आज ग्रोइङ्ग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायलाई हस्तान्तरण गरिएको छ ।

हेल्प मधेशी जनकपुर शाखाले मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री राउतले यादवको जीवन रक्षाका लागि प्रदेश सरकारबाट हुने हरेक सहयोग गर्न आफूहरु तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पाकिस्तानीको हत्या आरोपमा मृत्युदण्डको सजाय भोगिरहेका धनुषाका यादवको जीवन रक्षाका लागि ग्रोइङ्ग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायको प्रयासपछि मृतकका परिवारले माफी दिने सहमति जनाएपछि यादवको जीवन रक्षाका लागि ब्लडमनी संकलन शुरु भएको थियो । तीस लाख पाकिस्तानी रकम ब्लडमनीस्वरुप पीडित परिवारलाई दिनुपर्ने छ ।

सो अभियानअन्तर्गत हालसम्म रु ३७ लाख ५० हजार सङ्कलन भइसकेको उमेश यादव बचाउ अभियानका संयोजक रायले बताउनुभयो । अब उक्त खातामा कुनै रकम जम्मा नगर्न रायले सबैमा आग्रह गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्