Logo

मोदी फर्किएपछि ओली–प्रचण्डको चमत्कार



ऋषि धमला :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सकिएलगत्तै नेपालका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भयो । यो एकतासँगै नेपालको इतिहासकै सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी निर्माण भयो । नेपालमा एकल पार्टीको नेतृत्वमा पूर्ण बहुमतको सरकारसमेत निर्माण भएको छ । अब पाँच वर्ष एउटै प्रधानमन्त्रीले ढुक्कसँग काम गर्ने वातावरण बनेको छ । अब नेपालमा समृद्धि र विकासको युग पनि प्रारम्भ भयो । नेपाल कम्युनिस्ट पार्टी निर्माण गर्न सबैभन्दा चमत्कारी काम प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले गरे । नेपाली राजनीतिमा यी दुई नेता शक्तिशाली पनि भएका छन् । उनीहरू समय र परिस्थितिलाई आँकलन गर्न सक्ने नेताका रूपमा समेत परिचित छन् । तर, उनीहरूले भनेजस्तो समृद्धि र विकासको युगमा नेपाललाई लिएर जान धेरै चुनौती छन् । सरकारले भनेजस्तो अब दोहोरो आर्थिक वृद्धि हासिल गर्न चुनौती छन् । दुवै नेता कुशल तथा राजनेताका रूपमा परिचित छन् ।

यसमा दुई मत छैन् । इतिहासले यी दुई नेताको काँधमा ठूलो जिम्मेवारी दिएको छ । यो जिम्मेवारीलाई सही ढंगले पूरा गर्न सके भने देशले काँचुली फेर्छ । ओली–दाहालले ३ करोड नेपालीको मन जित्न सक्छन् । यसका लागि उनीहरूले छाती फराकिलो बनाउनुपर्छ । विश्वको ध्यान पनि अब आफूतिर आकर्षित गर्न सक्नुपर्छ । त्यो गर्न सक्ने सामथ्र्य यी दुई नेतामा छ । त्यसका लागि साधनस्रोत खोजी गर्नुपर्छ । विदेशी लगानी भिœयाउनुपर्छ । समृद्ध मुलुक र सुखी नेपाली बनाउन सरकारले भ्रष्टाचार अन्त्य गर्नुपर्छ । सुशासन कायम गर्नुपर्छ ।

मोदीले नेपाल भ्रमणबाट तीनवटा सन्देश दिन खोजे । पहिलो, भारतको विदेश सम्बन्धमा नेपाल सबैभन्दा प्राथमिकतामा छ । दोस्रो, भारतले आर्थिक विकासमा केन्द्रित रहेर नेपालसँगको सम्बन्धलाई अगाडि बढाउन चाहेको छ र तेस्रो, नेपालसँगको सांस्कृतिक र धार्मिक सम्बन्धको आधारबाट दुवै देशको सम्बन्ध सुदृढ बनाउने मोदी सरकारको नीति रहेको छ । मोदीले तीनपटक नेपाल भ्रमण गरेर जुन कीर्तिमान कायम गरेका छन्, त्यसले नेपाल सबैभन्दा प्राथमिकतामा रहेको देखिएको छ । सन् २०१४ मा प्रधानमन्त्री भएपछि मोदीले सबैभन्दा बढी भ्रमण गरेको देश सम्भवतः नेपाल नै हो । गौतम बुद्धको जन्मस्थान लुम्बिनी आउने बताएर मोदीले अर्को पटक पनि नेपाल भ्रमण गर्ने संकेत गरिसकेका छन् ।

नेपाल भ्रमणमा नौ सय मेगावाट विद्युत् क्षमताको अरुण तेस्रो मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त रूपमा उद्घाटन गरे । अरुण तेस्रो लामो विवाद र ढिलासुस्तीपछि निर्माण हुन लागेको विशेष आयोजना हो । पूर्वाधार विकासलगायत आर्थिक सहयोग आदानप्रदानका अन्य क्षेत्रमा समेत सहयोग आदानप्रदानमा मोदीको चासो देखिएको छ । मोदी सरकारको सबको साथ सबको विकास र ओली सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारालाई जोडेर अगाडि बढ्न मोदी उत्साही देखिए । उनले भाषणका क्रममा समेत त्यसलाई उल्लेख गरे । भारतले आर्थिक विकासका क्षेत्रमा विशेष सहयोग गर्ने सन्देशसमेत दिए ।

धार्मिक र सांस्कृतिक सम्बन्धबाट दुवै देशको हितका लागि मोदीले पनि कदम चाले । सीता जन्मभूमि जनकपुरमा सिधै उत्रिएका थिए । जानकी मन्दिर दर्शन गरी जनकपुर–अयोध्याय बस सेवा शुभारम्भ गरे । भारत र नेपालका धार्मिक तीर्थ स्थलबीच ‘कनेक्टिभिटी’ बढाउने मोदीको पहल थियो । रामायण सर्किटको विकासमा मोदीले हरियो झन्डा हल्लाए । मुक्तिनाथको भ्रमण धार्मिक सम्बन्धबाट दुवै देशको परस्पर सम्बन्ध प्रगाढ बनाउने अर्को पाइला थियो । उनको यो कदम धार्मिक सहिष्णुता बढाउने भावना देखिनुका साथै सबैको सम्मान गर्ने स्वभावसमेत रहेको भ्रमणले देखायो । नेपालका तराई, पहाड र हिमाल तीनै क्षेत्रको भ्रमण गरेर मोदीले सबैबीच एकता कायम होस् भन्ने सन्देश दिन खोजे ।

मोदीले तीन स्थानमा महत्वपूर्ण भाषण गरे । तीनवटा अलग स्थानमा दिएको भाषणबाट मोदी परिपक्व राजनेताका रूपमा प्रस्तुत भए । कतै पनि विवादास्पद अभिव्यक्ति दिएनन् । राजनीतिक विषयभन्दा धार्मिक, सांस्कृतिक र आर्थिक विषयको विवेचना गरे । जुन ठाउँ पुगे, त्यो ठाउँको प्राकृतिक सुन्दरता र ऐतिहासिक एवं सांस्कृतिक महŒवबारे उल्लेख गरे । आफू बिलकुल तीर्थयात्रीका रूपमा नेपाल आएको बताए ।

उनले जसरी अघिल्ला भ्रमणमा नेपाली जनताको मन जितेर गए । तर, नाकाबन्दी प्रकरणले उनको त्यो कद घटयो । तर, तेस्रो भ्रमणमा उनले धेरै हदमा मन जिते । संयोग मान्नुपर्छ , मोदीले काठमाडौंको राष्ट्रिय सभागृहमा नेपाली युवक सन्दीप लामिछाने आईपीएल क्रिकेटमा दिल्लीमा अनुबन्धित भएको विषय उल्लेख गरेकै दिन नेपाली जनताले सानदार खेल हेर्न पाए जसमा सन्दीप नायक जसरी मैदानमा देखिए ।

पछिल्लो भ्रमणले मोदीको नेपालप्रति गलत नियत नभएको पुष्टि हुँदै गएको छ । उनी काठमाडौं, जनकपुर, लुम्बिनी र मुक्तिनाथ क्षेत्रलाई मात्र होइन, सिंगो नेपाललाई पवित्र भूमि मान्छन् । पवित्र भूमिमा पवित्र काम होस् भन्ने मोदीको अन्तर्मनमा रहेको भ्रमणका दौरानका उपलब्धिहरूले पुष्टि गरेको छ ।
मोदीको पछिल्लो भ्रमण सफल र सार्थक भएको छ । जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन भयो । मुस्ताङी जनताले भव्य स्वागत गरे । हिमाल, पहाड र तराई तीनै क्षेत्रका जनताले विदेशी नेताको अभिनन्दन गरेको सम्भवतः यो पहिलोपटक हो । मोदी यसकारण पनि भाग्यमानी नेता भएका छन् ।

पंक्तिकारले होटल हायातमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दा तीन करोड नेपाली जनताको मन जित्न सफल हुनुभएकोमा बधाई भन्यो । मोदीको उत्तर दिए, ‘हो र ’ तपाईंको भ्रमण निकै सफल भयो भन्दा मोदीले धन्यवाद भने । मोदी निकै उत्साही थिए । सरल र सहज नेता भएकाले उनले भेट्न आएकाका लागि ढोका खोल्न लगाए । सवा अर्ब जनसंख्याको भारत जस्तो शक्तिशाली देशको प्रधानमन्त्री भएर पनि मोदीमा कुनै दम्भ थिएन । उनमा अरूप्रति सम्मान देखिन्थ्यो ।

मोदीले सार्वजनिक रूपमा राजनीतिक अभिव्यक्ति खासै नदिए पनि महŒवपूर्ण भेटघाटमा त्यसबारे गम्भीर छलफल गरे । प्रधानमन्त्री केपी शर्मा ओलीसँग खुलेर आपसी हित र आर्थिक विकासका क्षेत्रमा अगाडि बढ्ने उपायबारे छलफल गरे । एक अर्काको राष्ट्रिय हितलाई ध्यानमा राखी साझा बिन्दु पहिल्याएर बढ्ने सहमति विकास गरेका छन् । मिलेर बढ्नुको विकल्प छैन भन्नेमा दुवैको साझा मत छ । दुवै नेता प्रस्ट बोल्ने र एक्सनमा जाने स्वभाव भएकाले केमेस्ट्री मिलेको छ । दुवै नेताले मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाइसकेका छन् । विगतमा घट्नाक्रमबाट शिक्षा लिएर सुनौलो भविष्य निर्माणका लागि दत्तचित्त भएर काम गर्नेतर्फ दुवै नेता लम्किएका छन् ।

मोदी परिणाममुखी काम गर्ने नेता हुन् । परिश्रमबाट उठेका नेता भएकाले उनी असल नियतका साथ काम गर्छन् र सही परिणाम दिन्छन् । मोदीको नेपालप्रतिको चासो र मायाले चालेका कदमका परिणाम धमाधम आउन थालेको छ । लामो समययता थाती रहेका आयोजनाको कामले गति लिन थालेको छ । जसअनुसार पञ्चेश्वर परियोजना पनि हो । भारतीय सहयोगमा बन्न लागेका आयोजनाले गति लिन थालेका छन् ।
माथिल्लो कर्णाली आयोजनाले समेत गति लिएर ठोस परिणाम आउने वातावरण बन्दै गएको छ । भारतीय सहयोगहरू बढ्न थालेको छ । नेपाली विद्यार्थीले भारतको आईआईटीहरूमा स्थान पाउने गरी ढोका खुलिसकेको छ । नेपालबाट भारत र भारतबाट नेपालमा कल गर्दाको छुटलगायतका धेरै सुविधा कार्यान्वयनमा आएका छन् ।

मोदीको कार्यकालमा नेपालले विकास आयोजना निर्माणका क्षेत्रमा महत्वपूर्ण लाभ लिन सक्ने देखिँदै छ । मोदीको कार्यकालमा काठमाडौं—दिल्ली र पोखरा—दिल्ली मात्र नभएर जनकपुर—अयोध्या बस सेवा सञ्चालनमा आएको छ । दुवै देशबीच कनेक्टिभिटी बढाउने महत्वपूर्ण कदमका रूपमा यसलाई लिइनुपर्छ । मोदीको कार्यकालमा नेपालले राजनीतिक स्थायित्व हासिल गर्नुका साथै आर्थिक विकासमा गति दिन सक्ने वातावरण तयार भएको छ ।
कूटनीतिक माध्यमले दुवै देशबीचका समस्या समाधानतर्फ गति बढेको छ । विश्वको महत्वपूर्ण आर्थिक शक्ति भएकाले नेपालले मोदी कार्यकालबाट धेरै उपलब्धि हासिल गर्न सक्छ । नेपालमा कृषिको विकासमा मोदीले चासो दिएका छन् । भारतले कृषिका क्षेत्रमा महत्वपूर्ण सहयोग अगाडि बढाउने भएको छ । यसले नेपालको आर्थिक वृद्धिदर उच्च हुनुका साथै रोजगारीको उल्लेख्य अवसर बढ्नेछ ।



प्रतिक्रिया दिनुहोस्