Logo

मुलुक अब स्थिरतातर्फ अगाडि बढ्यो : प्रचण्ड



५ वर्षसम्म सरकार कसैले ‘हिलाएर हिल्दैन’
काठमाडौं, १० जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारलाई पाँच वर्षसम्म कसैले हिलाउन नसक्ने बताएका छन्।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको कार्यक्रममा प्रचण्डले विगतको सत्तरी वर्षमा जनताले कहिल्यै पनि पाँच वर्ष एउटै सरकारले काम गरेको देख्न नपाएको उल्लेख गरे। प्रचण्डले भने,’हामीले एकलौटी सरकार बनाएका छौं। यो सरकार कसैले हिलाएर हिल्दैन। कम्तिमा पनि ५ वर्ष, लोकतान्त्रिक मूल्यमान्यता अनुसार नै चल्छ, पाँच वर्ष।’

‘नेपाली जनताले कहिल्यै पनि पाँच वर्ष सरकारको कामको आधारमा मुल्याङ्कन र फैसला गर्न अधिकार उपभोग गर्न पाएनन्’, प्रचण्डले भने, ‘ पञ्चायतमा राजाले टिको लगाउने सरकार पनि तीन वर्षभन्दा बढी कुनै गएन। गणतन्त्र आएपछि राम्रो होला कि भनेको त वर्षैपिच्छे नौ-नौ महिनामा सरकार फेरिने विकराल स्थिति देखियो।’

उनले स्थिरताकै लागि अहिले सरकार दुई कम्युनिष्ट पार्टी एक भएको बताए। ‘यहि कुरा हेरर, सबै घुम्ती, मोड, अप्ठ्यारा हेरेर अब एकतामा जानुको विकल्प छैन’, प्रचण्डले भने, नेतृत्वमा स्थिरता दिन नसक्दा जनताको चाहना र प्रकृतिको वरदान राम्रोसँग उपयोग हुन सकेन।’

प्रचण्डले मुलुक अब स्थिरतातर्फ अगाडि बढेको बताए। ‘कांग्रेसको नेतृत्वसँग हाम्रो सरकारले छलफल गरेको छ’, प्रचण्डले भने, ‘अब स्थिरतातिर जान्छ कि भन्ने भरोसा गरेको छ।’

 



प्रतिक्रिया दिनुहोस्