Logo

नीति तथा कार्यक्रममा छुटेका विषय बजेटले समेटोस्



काठमाडौँ, १० जेठ / राष्ट्रियसभाका सदस्यले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषयलाई आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याइने बजेटमा समेट्न आग्रह गर्नुभएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सदस्यले यही सोमबार संसद्को दुवै सदनमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने क्रममा त्यस्तो आग्रह गर्नुभएको हो ।

नेकपाका दीनानाथ शर्माले नीति तथा कार्यक्रममार्फत सरकारले समृद्धिको उद्देश्यसहित आएकाले ढुक्क भएर समर्थन गर्नुपर्ने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा सन्तुलित परराष्ट्र नीति र स्वास्थ्य, शिक्षा, पूर्वाधार, ऊर्जा विकाससहितको स्पष्ट कार्यक्रम रहेको दाबी गर्नुभयो ।

नेपाली काँग्रेसका राधेश्याम अधिकारीले स्थानीय तहलाई बलियो बनाउने गरी बजेट ल्याउन आग्रह गर्दै केन्द्रीकृत शासन व्यवस्थाको मानसिकतामा आधारित भएर ल्याइएको नीति तथा कार्यक्रम निराशाजनक भएको बताउनुभयो ।

सबै क्षेत्र छरेर ल्याएकाले नीति तथा कार्यक्रमलाई ‘क्याटी दस्तावेज’को संज्ञा दिँदै उहाँले नीति तथा कार्यक्रममा वातावरणलाई प्राथमिकता नदिएको बताउनुभयो ।

यसैगरी राष्ट्रियसभाका सदस्य नन्दा चापागाई, रामलखन चमार, रमेशजंग रायमाझी, जीवन बुढा, दिलकुमारी रावल थापा र अनिता देवकोटाले शिक्षा, स्वास्थ्य एवं जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई ध्यान दिनुपर्ने उल्लेख गर्दै नीति तथा कार्यक्रममा उल्लेख नभएका विषयलाई बजेटमा स्पष्ट गरेर ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।

त्यस्तै, सदस्य बिना पोखरेल, कविता बोगटी, युट्रोल तामाङ, दुर्गाप्रसाद उपाध्याय, राजकुमार कुँवर, तारादेवी भट्ट र बलरामप्रसाद बाँस्कोटाले सरकारले ल्याएका नीति तथा कार्यक्रमलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिँदै आन्तरिक स्रोतको पहिचान, संरक्षण र त्यसको सही सदुपयोग गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

नीति तथा कार्यक्रममाथि सदस्यको धारणा राख्ने क्रम नसकिएकाले राष्ट्रियसभाको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित भएको छ ।  रासस



प्रतिक्रिया दिनुहोस्