Logo

विनायक अस्पताल तथा प्रसुति गृहको विकृति, विरामीलाई भेडाबाख्रा जस्तो व्यवहार



जेठ १४, काठमाण्डौ । निजी क्षेत्रबाट संचालित विनायक अस्पताल तथा प्रसुति गृह प्रालिले सेवाग्राहीलाई दिनुपर्ने सेवा सुविधामा लापरबाही गरेको पाइएको छ ।

काठमाण्डौको गोगंबुमा संचालित यस अस्पतालमा उपचार गराउन पुग्ने विरामीलाई उपचारभन्दा बढि सास्ती दिने गरेको हो ।

महङ्गो शुल्क तिरेर गुणस्तरीय स्वास्थ्य सेवा लिनका लागि अस्पताल पुग्नेहरुका लागि शौचालय देखि चिकित्सकसम्मको सेवा फितलो लाग्ने गरेको छ ।

टिकट काटेर उपचारका लागि चिकित्सकसँग समय लिए पनि विरामीले पूर्व निर्धारित समयमा चिकित्सक भेट्न पाउँदैनन् । अस्पतालले नै दिएको समयमा पुग्दासमेत चिकित्सक भेट्न नपाएपछि विरामीहरुले थप सास्ती पाउने गरेका छन् ।

अधिकांश चिकित्सकहरु निर्धारित समयमा नआउने गरेको अस्पतालमा कार्यरत कर्मचार र नर्सहरुले नै गुनासो गर्ने गरेका छन् । चिकित्सक समयमा नआइदिदा विरामीहरुले आफूहरुसँग रिस पोख्ने र झगडासम्म गर्ने गरेको उनीहरु बताउँछन् ।

विभिन्न रोगको उपचारका क्रममा भिडियो एक्सरे गर्नुपरेमा पनि निकै सास्ती छ । सानो र साँघुरो ठाउँमा भिडियो एक्सरे गर्नुपर्ने बिरामीहरुलाई भेडा बाख्रा कोचेजस्तै गरी राख्ने गरिएको छ ।

अस्पतालको शौचालय पनि दुर्गन्धित छ । काठमाण्डौमा भएका अस्तव्यस्त सार्वजनिक शौचालयकै आवस्थामा अस्पतालको शौचालय देख्न सकिन्छ ।

निजी क्षेत्रको अस्पताल भनेपछि महङ्गो शुल्क भए पनि गुणस्तरीय सेवा पाइन्छ भन्ने अपेक्षासहित पुगेका विरामी केही बेर कुर्नुपर्यो भने टिनको छानोमुनी बस्नुपर्ने अवस्था छ ।

अस्पतालको छानो टिनले छाएको हुँदा पानी पर्दा अवाज आउने र गर्मीमा पोल्ने गर्दछ । समयमा चिकित्सक नपुग्दा पर्खनुपर्ने बाध्यता एकतातिर छ भने टिनको छानामुनी गर्मीको समयमा थप कष्ट हुने गरेको छ ।

अस्पताल क्षेत्र चक्रपथ नजिक भएकाले धुवाँ धुलो र ध्वनी प्रदुषण त छदै छ । अस्पतालकै गेटमा पानीको ट्याङ्कर रोकेर पानी भर्ने गरिएको छ । आकस्मिक सेवासमेत प्रदान गर्ने भनेर प्रचार गरेको अस्पतालले गेटमै ट्याङ्कर रोकेर पानी भर्ने गरेको छ ।

 

जसका कारण अकस्मिक उपचार गर्न आउने विरामी पनि समस्यामा पर्ने गरेका छन् ।

ट्याङ्कर जथाभावी रोकेर राख्दा विरामी ल्याउने सवारी साधन नै गेटभित्र प्रवेश गर्न सक्दैन ।

पछिल्लो समय डाक्टरले लेख्ने प्रेस्किप्सन विरामी वा विरामीका आफन्तलेसमेत बुझ्ने गरी लेख्नुपर्नेमा जोड दिइएको छ ।

तर अहिलेसम्म यसप्रति कुनै पनि अस्पतालमा काम गर्ने डाक्टरले ध्यान दिएको पाइदैन । विनायकमा पनि अवस्था त्यस्तै छ ।

नबुझिने अक्षरमा प्रेस्किप्सन लेख्दा कतिपय अवस्थामा गलत औषधि पर्न सक्ने, पढे लेखेका शिक्षितहरुले समेत कुन ओैषधि प्रयोग भएको छ भन्ने थाह नपाउँने अवस्था भएपछि नेपाल मेडिकल काउन्सिलले अक्षर राम्रा लेख्न निर्देशनसमेत दिएको थियो ।

तर यो निर्देशन पालना भएको पाइदैन ।



प्रतिक्रिया दिनुहोस्