Logo

डडेल्धुरामा जिप दुर्घटना, चार जनाको मृत्यु



कैलाली, १५ जेठ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर–३, गजरौलमा मंगलबार भएको एक जिप दुर्घटनामा परी वडाध्यक्षसहित चारजनाको मृत्यु भएको छ ।

डोटीको दीपायलबाट बाँकेको कोहलपुरतर्फ गइरहेको शैलेश्वरी यातायातको से१ज ३३० नम्बरको जिप दुर्घटनामा परी वडाध्यक्षसहित चारजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी डोटीको आदर्श गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष प्रेमबहादुर बोहरा मुत्यु भएको छ । यस्तै, मृत्यु हुनेमा आदर्श गाउँपालिका–२ कै ३५ वर्षीय लालबहादुर बोहरा, सोही ठाउँकी १४ वर्षीया जानकी बोहरा र दीपायल–सिलगढी नगरपालिका वडा नम्बर–४ का विनोद रावल रहेका छन् ।

११ जना यात्री सवार जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा ल्याउनेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अरु ७ जना घाइते भएका छन् । घाइते हुनेमा जिपका चालक विष्णु बिक, कृष्णकुमार यादव, विनोद बोहरा, बिस्ना बोहरा, टेकबहादुर बोहरा र नरेश देउवा रहेका छन् ।

घाइतेमध्ये दुईजनालाई डोटी र पाँचजनालाई डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ । तस्वीर सौजन्यः कर्ण चन्द, डोटी ।

 



प्रतिक्रिया दिनुहोस्