Logo

बजेटको सैद्धान्तिक छलफल सकिँदै, अर्थमन्त्रीको जवाफ आउने



जेठ २०, काठमाण्डौ । प्रतिनिधिसभामा आज आर्थिक वर्ष २०७५–७६ को वार्षिक बजेटको सैद्धान्तिक छलफल सकिँदैछ । राष्ट्रियसभामा भने सैद्धान्तिक छलफलको क्रम शुक्रबार नै सकिएको छ । प्रतिनिधिसभामा छलफलमा भाग लिने सांसद् संख्या बाँकी रहेका कारण आइतबार पनि छलफलको समय तोकिएको छ ।

संसद् सचिवालयले आइतबार छलफल र अर्थमन्त्रीको जवाफको कार्यसूची तोकेको छ । अर्थमन्त्रीले छलफलमा उठेका प्रश्न दिएपछि सैद्धान्तिक छलफल सकिनेछ । सैद्धान्तिक छलफलपछि संसद्मा मन्त्रालयगत रुपमा बजेटका शीर्षकमाथि छलफल सुरु हुनेछ ।

संसद् सचिवालयले मन्त्रालयगत विवरण समेटिएको रातो किताब भाग दुई पाइसकेको छैन । उक्त विवरण प्राप्त भएपछि मन्त्रालयगत रूपमा बजेट छलफल हुनेछ ।

मन्त्रालयगत छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनेछन् । मन्त्रीको जवाफपछि बजेट पारितको प्रक्रिया सुरु हुनेछ । उक्त अवधिमा सांसद्लाई बजेटमाथि खर्च कटौती तथा अन्य संशोधन दर्ताका लागि समय दिइनेछ ।

बजेटका चार विधेयकमध्ये विनियोजन विधेयक असार मसान्तसम्म पारित भइसक्नु पर्नेछ । सरकारले विनियोजनसहितका सबै आश्रित विधेयक संसद्मा पेस गरिसकेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते बजेट प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्