जेठ २१, काठमाण्डौ । प्रदेश नम्बर ४ को राजधानी कास्की जिल्लाको पोखरा पक्कापक्की भएको छ । यसअघि नै यस प्रदेशको राजधानी पोखरा बनाउने विषयमा विवाद थिएन ।
संसद बैठकमा सोमबार प्रदेश राजधानी तथा नामांकनसम्बन्धी प्रतिवेशन पेश हुँदैछ । प्रदेश राजधानी निर्विकल्प पोखरा बनेको छ ।
नामका सम्बन्धमा भने अझै एक हुन सकेको छैन । प्रदेशको नाममा सर्वसम्मत नहुने भएपछि जिल्ला जिल्लाबाट लिइएको सुझावका आधारमा प्रस्ताव गरिने भएको छ ।
सुझाबका क्रममा आएको मतलाई आधार मानेर क्रमश एक नम्बर, दुई नम्बर गरेर पेश हुँदैछ । प्रदेश राजधानी तथा नामांकन समितिले पेश गर्न लागेको प्रतिवेदनमा प्रदेशको नाम एक नम्बरमा गण्डकी रहेको एक नेताले बताए ।
तर गुरुङ र मगर समुदायले भने तमुवान–मगरात नाम हुनुपर्ने भन्दै सडकमै उत्रिएका छन् । तमुवान–मगरात संघर्ष समितिले आइतबार प्रदर्शन नै गरेको थियो भने सोमबार पनि प्रदर्शन तथा मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको छ । आइतबार समितिले उपसभामुख तथा संसदीय दलका नेतालाई ज्ञापनपत्र बुझाएका थिए ।
उनीहरुले गुरुङ जातिको पहिचानलाई लत्याएर अर्कै नाम राख्न लागेको भन्दै आपत्ति जनाइरहेका छन् । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि जातीय आधारमा नाम राख्न नहुने बताएका छन् ।
विश्व हिन्दु महासंघले भने कुनै पनि हालतमा जातीय नामाकरण गर्नु नहुने भन्दै आन्दोलनको चेतावनी दिएको छ । ११ जिल्ला पुगेर सुझाव संकलन गरेको समितिलाई अधिकांश दलका सांसदले भने प्रदेशको नाम गण्डकी राख्न सुझाव दिएका छन् ।
समितिले संसदमा प्रतिवेदन पेश गरेपछि बहुमतको आधारमा नामको टुंगो लाग्नेछ ।