Logo

अनुगमनमा मन्त्रीको लर्को, कृषिमन्त्री खनाल पुगे कालिमाटी



जेठ २१, काठमाण्डौ । सरकारका मन्त्रीहरुले स्थलत अनुगमनलाई प्राथमिकता दिन थालेका छन् । त्यसो त कामभन्दा बढि चर्चामा आउन चाहने मन्त्रीहरु स्थलगत अनुगमनमा जाने प्रचलन पुरानै हो ।

सोमबार विमहानै कृषिमन्त्री चक्रपाणि खनालले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारको अनुगमनमा पुगेका थिए । कालिमाटी तरकारी बजार अव्यवस्थित रहेको गुनासो आइरहेका बेला मन्त्री खनालले अनुगमन गरेका हुन् ।

कृषिराज्यमन्त्री रामकुमारी चौधरी, मन्त्रालयका अधिकारी, सञ्चारकर्मीसहित सोमबार बिहानै कालिमाटी पुगेका मन्त्री खनालले ३ दर्जन पसलको अनुगमन गरे । अनुगमनका क्रममा मन्त्री खनालले स्टलको भाडा, तरकारीको भाउ सोधेका थिए ।

अनुगमनपछि मन्त्री खनालले बजार व्यवस्थित गर्ने बताएका छन् । त्यसका लागि कालिमाटी बजार व्यवस्थापन समितिको बोर्ड बैठक बसालेर आवश्यक निर्णय लिइने उनले बताए ।

मन्त्री खनालले कालीमाटी तरकारी बजारभित्र राखिएका माछा पसलले फोहोर र दुर्गन्ध फैलाएकाले त्यसलाई हटाउने पनि बताए । माछा पसललाई कालिमाटी तरकारी बजारभित्रबाट हटाएर अन्यत्र स्थापना गर्ने खनालको भनाइ छ ।

त्यसको एउटा विकल्प बालाजु क्षेत्र हुनसक्ने कृषिमन्त्री खनालले बताए । आवश्यक पूर्वाधार बनाएर मात्रै माछा पसललाई स्थानान्तरण गरिने उनको भनाइ थियो ।

आइतबार विश्व वातावरण दिवसको अवसर पारेर गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले काठमाडौंमा सवारीसाधनको प्रदूषणको चेकजाँच गरेका थिए । मन्त्रीद्वय सडकमै पुगेर प्रदूषण चेकजाँचमा सहभागी भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्