जेठ २१, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाउँदै लगेको छ । दैनिक उपभोग्य वस्तु भएकाले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारण दिक्क भइसकेका छन् । तर निगमले मुल्य घटाउने कुनै संकेत नै गरेको छैन ।
नेपालले भारतबाट पेट्रोलियम पदार्थ खरिद गरेर विक्रि वितरण गर्दै आएको छ । पेट्रोलियम पदार्थको खरिद विक्रीको जिम्मा पाएको नेपाल आयल निगम एनओसीले इण्डियन आयल कर्पोरेशन आइओसीसँग खरिद गरेर नेपालमा विक्रि गर्छ । निगमले पछिल्लो तीन महिनायता पाँच पटक मूल्य वृद्धि गरेको छ । आइओसीले पठाएको मूल्यअनुसार निगमले हरेक १५१५ दिनको अन्तरमा तेलको भाउ समायोजन गर्दै आएको छ ।
गत चैत १९ देखि पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्दै गएको छ । चैत १९ मा प्रति लिटर पेट्रोलको मूल्य १०५ रुपैयाँ थियो भने मट्टितेल र डिजेलको ८५ । त्यसपछि त्यसको करिब १५ दिनपछि पेट्रोलमा एक र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ प्रति लिटरको दरले मूल्य बढ्यो ।
गत बैशाख ३ मा पेट्रोलको मूल्य १०६ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको प्रतिलिटर ८७ रुपैयाँ कायम गरियो । त्यसको १५ दिनपछि निगमले पेट्रोलमा २ तथा डिजेल र मट्टितेलमा ३ रुपैंयाँको वृद्धि गर्दै पेट्रोलको १०८ रुपैयाँ र मट्टितेल र डिजेलको ९० रुपैयाँ प्रतिलिटर मूल्य कायम गर्यो । तीन चोटी लगातार बढेको इन्धनको मूल्य त्यतीमै सिमित भएन ।
जेठ २ गते तीनै पदार्थको मूल्य थप दुई रुपैयाँले वृद्धि भयो । यससँगै प्रति लिटर पेट्रोलको ११० रुपैयाँ तथा मट्टितेल र डिजेलको ९२ रुपैयाँ कायम भएको थियो । पछिल्लो पटक २० गते मूल्य बढाएपछि पेट्रोल प्रति लिटर ११३ रुपैंयाँ तथा डिजेल र मट्टितेललाई ९५ रुपैयाँ तिर्नुपर्नेछ ।
लगातार पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण उपभोक्तालाई मार परेको तथा मूल्य वृद्धि हुने भन्दै सरकारको आलोचना सुरु भएको छ ।
तर निगमका प्रवक्ता बिरेन्द्र गोइत भने इन्धनको मूल्य घट्नु वा बढ्नुका पछाडि सरकार वा निगमको कुनै भूमिका नभएको दाबी गरेका र्छन् । २०७१ असोज १३ गते यता स्वचालित मूल्य प्रणाली लागू भएपछि २६ पटक मूल्य घटेको गोइतको दाबी छ । तर पछिल्लो समय भने निरन्तर मूल्य बढाइएको छ ।
पटकपटक मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमा १८ करोड ६२ लाख घाटा हुने गरेको प्रवक्ता गोइत बताउँछन् ।
नेपालमा उत्पादन नहुने भएकाले अन्तर्राष्ट्रिय बजारमा पेट्रालियम पदार्थको मूल्य बढ्नु वा घट्नुले नेपालमा समेत प्रभाव पार्छ । तर हरेक १५ दिनमा मूल्य बढ्ने क्रमले लामोसमयसम्म निरन्तरता पाउँदा उपभोक्ता भने असन्तुष्ट बनेका छन् । अर्कोतिर बढेकै मूल्य तिरेर पेट्रोलिय पदार्थ किन्नका लागि पनि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता छ ।