जेठ २६, काठमाण्डौ । विगत लामो समयदेखि नेपाली कांग्रेसभित्रको विवादले निरन्तरता पाइरहेको छ ।
गुट–उपगुटमा आधारित राजनीति हुने कांग्रेसको परम्पराले कांग्रेस कमजोर बन्दै जाँदा पनि अझै सुधार भएको पाइदैन ।
पछिल्लो महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि नै शेरबहादुर देउवालाई धेरै चुनौति देखिएको थियो ।
विशेषगरी रामचन्द्र पौडेल समुहले देउवालाई चेप्दै आएको थियो । त्यसो त देउवाको कार्यशैली पनि चित्तबुझ्दो हुन सकेको थिएन । समग्र पार्टीको नेतृत्व नगरी आफू निकट नेताहरुको गुट मात्रै चलाएको आरोप देउवा माथि लाग्दै आएको छ ।
गत वर्ष सम्पन्न निर्वाचनमा कांग्रेसले लज्जास्पद हार बेहारेपछि त झन देउवामाथि पार्टीभित्रैबाट चर्को आलोचना भइरहेको छ । देउवाको नेतृत्व असफल भएको भन्दै पार्टीभित्रैबाट देउवाले राजिनामा दिनुपर्ने मागसमेत उठ्यो ।
तर देउवाले भने निर्वाचनमा बेहोरेको पराजयका जिम्मेवारीसमेत लिन चाहेनन् । निर्वाचनमा गठबन्धन गरेका तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले झण्डै दुईतिहाइ बहुमत ल्यायो । देउवाले भने दुई दलबीचको वाम गठबन्धनलाई चुनौति दिने गरी कुनै राणनीति लिन सकेनन् ।
अहिले ६ वटा प्रदेश र संघमा कम्युनिष्ट सरकार छ । प्रदेश दुईमा राजपा र फोरमको संयुक्त सरकार छ । सबै ठाउँमा प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसले प्रभावकारी रुपमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न पनि सकेको छैन ।
कम्युनिष्टहरु एक भएर सरकार बलियो बनाउँदा कांग्रेसभित्र भने अझै चेतना आएको छैन । सभापति देउवा मात्रै होइन, कांग्रेसभित्रको गुटगत राजनीतिले झनै कमजोर बनाएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि देउवाको आलोचनामा मात्रै समय खर्चेका छन् । त्यसो त पार्टीभित्रका आफ्नो गुटबाहेक अरु नेताले दिएको सुझाबलाई देउवाले पनि मनन गर्न सकेका छैनन् ।
देउवा र पौडेल बसेर आन्तरिक विवाद हटाउनु पर्नेमा एकअर्कामा आरोप प्रत्यारोप गरिरहेका छन् ।