Logo

हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण आगामी वर्ष



काठमाडौँ, २७ जेठ : नेपाललाई हिमालय प्रवेश मार्गका रुपमा स्थापित गराउने उद्देश्यले आयोजना हुँदै आएको हिमालयन ट्राभल मार्ट(हिमाली पदयात्रा मेला)को तेस्रो संस्करण आगामी वर्ष जेठ २४–२६ (सन् २०१९ जुन ७ –९) काठमाडौँमा हुने भएको छ ।

मेला अन्तरदेशीय पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा उपयुक्त थलो बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा नेपाल पर्यटन बोर्डको आयोजना र प्यासिफिक एशिया ट्राभल एसोसिएसन पाटा नेपाल च्याप्टरको कार्यकारी आयोजनामा मेला हुँदै आएको छ ।

यही जेठ २० गते काठमाडौँमा आयोजित मार्टको समापन कार्यक्रमलाई सम्बोधन गर्दै हिमाालयन ट्राभल मार्ट–२०१८ मूल आयोजक समितिका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुंगा बन्दै आएको हिमालयन ट्राभल मार्टजस्तो कार्यक्रम निरन्तर आयोजना हुनुपर्नेमा जोड दिँदै मार्टको आगामी संंस्करणको मिति घोषणा गर्नुभएको पाटा नेपाल च्याप्टरले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सोही कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दनीलाहे थापा, पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यलगायतले मार्टलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार ट्राभल ट्रेड फेयरका रुपमा स्थापित मार्ट एउटा विशेष लोकप्रिय व्यवसायदेखि व्यवसाय(बिटुबी) कार्यक्रम बन्दैछ, जुन पर्यटन व्यवसायी तथा सबै सरोकार भएका निकायका लागि नेटवर्किङ, व्यवसाय प्रवद्र्धन, ज्ञान तथा सीप आदानप्रदान गर्न अद्वितीय मञ्च बनेको छ ।

मेलाका पहिलो संस्करण सन् २०१७ मा ५३ देशबाट २२५ विदेशी प्रतिनिधि तथा सन् २०१८ मा ३६ देशबाट १७० भन्दा बढी विदेशी प्रतिनिधिको सहभागिता थियो । नेपाल, भारत, पाकिस्तान, चीन (तिब्बत), भुटान र म्यानमाजस्ता हिमाली राष्ट्रबाट बिक्रेता तथा युरोप, अमेरिका (उत्तर–दक्षिण), अष्टे«लिया, न्यूजिल्याण्ड, एशिया सिआइएस राष्ट्र एशिया र अरब राष्ट्रका बिक्रेतालाई एउटा मञ्चमा भेला गराई उनीहरुबीच व्यापार आदानप्रदान तथा सम्बन्ध सञ्जाल विस्तारको उद्देश्यले पाटा नेपाल च्याप्टरले विजनेस–टु–विजनेस मार्टको परिकल्पना गरेको थियो ।

पहिलो दुई संस्करणको सफल आयोजनापछि हिमाली राष्ट्रबाहेक संयुक्त अरब इमिरेट्स, भियतनामजस्ता राष्ट्रले बिक्रेताका रुपमा सहभागिता जनाएको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत बुडालले जानकारी दिनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्