जेठ २८, काठमाण्डौ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्प पीडितको निजी आवास निर्माणलाई पहिलो प्राथमिकता राखेर काम भइरहेको बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छनमा ऋषि धमलासँग कुरा गर्दै भुसालले चैत २० गते बसेको प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले प्राथमिकता निर्धारण गरेर काम गरिएको जानकारी दिए ।
“पहिलो प्राथमिकता भूकम्प पीडितको आवास निर्माणलाई दिएको छौँ ।” भुसालले भने ।
अहिले भूकम्प पीडितको गुनासो सम्बोधन गर्ने काम भइरहेको भुसालले बताए । स्थानीय निकायमार्फत आएका एक लाख २९ हजार गुनासोमध्ये ८० हजार गुनासो सम्बोधन भइसकेको उनको दाबी छ ।
हरेक हप्ता शुक्रबार नौ बजे बैठक बसेर गुनासो बुझ्ने र सम्बोधन गर्ने काम भइरहेको उनले बताए ।
अहिलेसम्म एक लाख ६१ हजार पीडितको घर बनिसकेको तथ्याङ् प्राधिकरण सँग रहेको र त्यसपछि थपिएका गरी करिब २ लाख पीडित घरभित्र पसिसकेको भुसालले जानकारी दिए ।
त्यसैगरी अहिले चार लाख बयासी हजार घर बन्दै गरेको भुसालले बताए । बनिसकेका र बन्दै गरेका गरी सात लाख पुग्ने उनको भनाई छ । बाँकी एक लाख पचास हजार घर अबको एक वर्षभित्र बनिसक्ने भुसालको दाबी छ ।