Logo

ट्रम्प र उनबीच भएको वृहत सम्झौता : उत्तर कोरियाले निशस्त्रीकरण प्रक्रिया सुरु गर्ने



जेठ २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले चार बुँदे ’बृहत’ सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा भएको वार्तापछि कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउनुका साथै अमेरिका र कोरियाबीच नयाँ सम्बन्ध स्थापित गर्न दुई नेताले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

मंगलबार भएको वार्तामा दुई नेताबीच यस्तो सहमति भएको हो । उत्तर कोरियाले निशस्त्रीकरण प्रक्रिया सुरु गरेवापत अमेरिकाले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी लिने भएको छ ।

‘राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको सुरक्षा ग्यारेन्टीको जिम्मा लिनुभएको छ, नेता किम जोङ उनले कोरियाली प्रायद्विपमा निशस्त्रीकरण गर्न आफ्नो प्रतिवद्धता दोर्होयाउनुभयो’ विज्ञप्तिमा भनिएको छ ।

ट्रम्पले आफूले छिटो भन्दा छिटो निशस्त्रीकरण गर्ने प्रक्रिया सुरु हुने अपेक्षा गरेको बताएका अमेरिकी राज्यमन्त्री माइक पेम्पोले बताएका छन् । उत्तर कोरियाले भने सम्भव भएसम्म चाँडै गर्ने जवाफ दिएका छन् ।

राजनीतिक विश्लेषकहरुले भने शिखर वार्तामा ठोस सहमति हुन नसकेको बताएका छन् ।

दुईदेशबीच भएको चारबुँदे सहमति

१. शान्ति र समृद्धिको लागि दुवै देशको जनताको चाहना अनुसार संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) दुई देशबीच नयाा सम्बन्ध स्थापनाको लागि प्रतिबद्ध छन् ।

२. अमेरिका र उत्तरकोरिया दुवैले कोरियाली प्रायद्विपमा एक स्थिर र शान्त व्यवस्थाको निमार्णको लागि आ(आफ्नो तर्फबाट प्रयास गर्नेछन् ।

३. अप्रिल २७, २०१८ को ‘पान्मुनजोन सम्झौता’लाई पुनःपुष्टि गर्दै उत्तर कोरिया कोरियाली प्रायद्विपको सम्पूर्ण निशस्त्रिकरणको लागि काम गर्न प्रतिबद्ध छ ।

४. संयुक्त राज्य अमेरिका र उत्तर कोरिया युद्धबन्दीहरु र हराएकाहरुको खोजीमा प्रतिबद्ध छ र पहिचान भैसकेकाहरु युद्धबन्दीहरुलाई तुरुन्तै आ–आफ्नो देश फर्काइने छ ।

यस शिखर वार्ताका सम्झौताहरुलाई अगाडि बढाउनका लागि अमेरिका र उत्तर कोरियाबीच थप वार्ता हुने र अमेरिकाको तर्फबाट सो वार्ताको नेतृत्व विदेशमन्त्री माइक पोम्पेओले गर्न र उत्तर कोरियाका तर्फबाट उपयुक्त उच्च अधिकारीले छिट्टै मिति तय गरेर वार्ता हुने सम्झौता विवरणमा उल्लेख गरिएको छ ।

सम्झौतापत्रको अन्त्यमा भनिएको छ, “अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन दुवै अमेरिका र उत्तर कोरियाबीचको नयाँ सम्बन्ध विस्तार गर्दै कोरियन प्रायद्वीपमा शान्ति, समृद्धी र सुरक्षित वातावरण स्थापनाका लागि कटिबद्ध रहने समझदारी भयो ।”



प्रतिक्रिया दिनुहोस्