जेठ ३१, काठमाण्डौ । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले अहिलेको सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिमालले लोकतन्त्रका मूल्य मान्यताअन्तरगत प्रेस स्वतन्त्रताको सम्मान गरिने बताए ।
सुचना तथा संचारमन्त्री गोकुल बास्कोटालाई कडा प्रश्न सोधेको भन्दै नेपाल टेलिभिजनको कार्यक्रम सिधा प्रश्न किन बन्द गराईयो भन्ने धमलाको प्रश्नमा रिमालले भने, “कतिपय रेडियो, टेलिभिजनका कार्यक्रमहरु फेरबदर भइरहन्छन् । फरक मत राख्ने पत्रकार छन् भन्दैमा प्रश्नलाई रङ्गिचङ्गी बनाएर सोध्नुको कुनै अर्थ छैन । हामीले पनि त देखिरहेका छौँ नि कुन तरिकाले कार्यक्रमहरु चलिरहेका छन् । साथीभाइहरु निष्ठावान छन् कि छैनन् भन्ने कुरा हेरिरहेका छौँ । कुनै मन्त्रीलाई प्रश्न सोधेको कारणले बन्द गर्नुपर्ने जरुरी छैन ।”
तर कुनै मन्त्रीले नै व्यक्तिगत स्वार्थका कारण प्रेसमाथि हस्तक्षेप गरेको भए त्यसको जिम्मेवार त्यही मन्त्री हुने भन्दै रिमालले सिङ्गो सरकार र नेकपामाथि आरापे नलगाउन आग्रह गरे । “मानिलिनुस्, मन्त्रीलाई प्रश्न सोधेको भरमा कार्यक्रम बन्द भएको भए त्यो मन्त्री नै दोषी होला नि । किन सिङ्गो सरकार र नेकपालाई गाली गर्ने ? यो दुराशयपूर्ण कुरा हो ।” रिमालले भने ।
“एउटा एउता विषय उठाउँदै सामाजिक संजालमा रंग पोत्ने अनि मत स्थापित गर्ने दुश्प्रयास भइरहेको छ । यो गलत हो ।” रिमालले भने ।
अहिलेको सरकारले प्रभावकारी काम गरेर तरङ्ग पैदा गराएरै छाड्ने रिमालको दाबी छ ।
अहिलेको मूल्यवृद्धि सरकारको नियन्त्रण बाहिर रहेको भन्दै रिमालले कुनै न कुनै बेला मूल्यवृद्धि रोकिने बताए ।
नेपाली समाजमा धेरै प्वाल परेको भन्दै रिमाले ति प्वाल टाल्न अहिले सकस भइरहेको बताए ।