असार १, काठमाण्डौ । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले आफ्नै निर्वाचन क्षेत्रमा मात्रै धेरै बजेटको व्यवस्था गरेको भन्दै संसदमा आलोचना भएको छ ।
विषयगत मन्त्रालयको छलफलका क्रममा सांसद प्रेम आलेले खेलकुदमन्त्रीको आलोचना गरे । आफूले डोटीका लागि सुरुमा सात वटा आयोजना दिएको तर, मन्त्रीले नै भनेर २ मा झारेको सुनाए । तर, बजेटमा एउटा पनि नपरेको गुनासो पोखे ।
खेलकुदमन्त्रीलाई प्रश्न गर्दै आलेले भने, ‘डोटीमा योजना नपर्दा अर्थमन्त्रीलाई दोष दिने । आफ्नो जिल्ला कास्कीमा २४–२४ वटा योजना हाल्ने ? लाज लाग्दैन तपाईलाई ?’
आफ्नो टाउकोमा देखाउँदै उनले चेतावनीपूर्ण शैलीमा मन्त्रीलाई भने, ‘यस्तैयस्तै टाउको गनेर तपाईहरु पदमा बस्नु भएको छ, जनताले हामीलाई निर्वाचित गरेको हुनाले तपाईले त्यो पद प्राप्त गर्नु भएको छ । त्यो हेक्का राख्नुस् ।’
मन्त्री विश्वकर्माले भने आफ्नो बचाउ गर्दै सासंहरुसँग योजना मागेर नै अर्थमन्त्रालयमा पठाइएको तर मानवीइ त्रुटीका कारण कतिपय योजनालाई बजेट नपरेको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री विश्वकर्माले आलेको मात्र नभै अरु सासंदहरुले माग गरेको योजनाका लागि पनि बजेट छुटेको बताए ।
विश्वकर्माले आफ्नो जिल्लामा मात्रै बजेट पारेको भन्ने आरोपको खण्डन गर्दै समग्र जिल्लामा धेरै योजना भए पनि आफ्नो निर्वाचन क्षेत्रमा भने दश लाख रुपैयाँ मात्रै बजेट पारिएको सुनाए ।
संसदमा सांसदहरुको प्रस्तुतिप्रति मन्त्रीले विश्वकर्माले असन्तुष्टी व्यक्त गरेका छन् । “माननीय सासंदहरुले आफ्ना योजना नपर्दा चित्त दुखाउनु स्वभाविक नै हो । तर १३ औँ दक्षिण एसियाली खेलकूद र आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि आवश्यक बजेट विनियोजन गरिएको हो ।” विश्वकर्माले भने ।
१३ औँ दक्षिण एसियाली खेलकूद र आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका सम्पन्न गर्नका लागि बनाउनुपर्ने भौतिक पूर्वाधारलाई बजेटमा प्राथमिकता दिइएको उनले बताए । आफ्नो जिल्ला कास्कीमा पनि १३ औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिताका केही खेलहरु हुने भएकाले स्वभाविक रुपमा योजना पारिएको उनको दाबी थियो ।
वास्तविकता नबुझिकन कतिपय सांसदहरुले आलोचना गरेको विश्वकर्माले बताएका छन् ।