Logo

योगेश भट्टराईले कांग्रेसलाई दिए कडा जवाफ



काठमाडौं, १ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले जनताको अपेक्षाअनुसार नै काम गर्ने प्रयास गरिरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसले सरकारको हरेक काममा अधिनायकवाद देखेको भन्दै आपत्ति जनाए ।

नेता भट्टराईले भने–‘कांग्रेसलाई यति धेरै छटपटी किन भइरहेको छ ? त्यो बुझ्न सकिएको छैन । विरोधका लागि विरोध गर्ने प्रवृत्ति गलत छ ।’

सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्दा कोही–कसैले पनि आपत्ति गर्नु नपर्ने उनको भनाइ थियो ।

नेता भट्टराईले कम्युनिष्टहरूबीचको एकताले स्वदेश र विदेशमा सकारात्मक सन्देश गएकाले अब जनताको चाहना र आवश्यकतालाई पूरा गर्ने समय आएको बताए ।

नेकपाका स्थायी समिति सदस्य पम्फा भुसालले पार्टी एकतासँगै समाजवादउन्मुख समाज निर्माणका लागि उपयुक्त वातावरण तयार भएको बताउँदै यस अभियानमा सन्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताइन् ।

उनले सकारात्मक सन्देश प्रवाह गर्ने र जनतामा आशावादको सन्चार जगाउनेखालको समाचार सामग्री प्रस्तुत् गर्नुपर्नेमा जोड दिइन् ।

बैठकमा नेकपाका केन्द्रीय सदस्यहरू महेश्वर दाहाल, ओम शर्मा र विष्णु रिजालले प्रेस सेन्टर र प्रेस चौतारीको एकता र सक्रियताका लागि शुभकामना दिएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्