वालिङ, स्याङ्जा, १ असार : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले अब परिवर्तनको अनुभूति भाषणबाट नभई कामबाट दिनुपर्ने बेला आएको बताउनुभएको छ ।
वालिङ उद्योग वाणिज्य संघको १५ औँ साधारणसभा तथा सातौँ अधिवेशनको आज वालिङमा उद्घाटन गर्दै राज्यमन्त्री अर्यालले अब बोलीभन्दा पनि ब्यवहारबाट जनतालाई विकास निर्माणको प्रत्याभूति दिलाउनुपर्ने बताउनुभएको हो ।
४० प्रतिशत युवाहरु विदेशी भूमिमा पसिना बगाउन बाध्य भएको बताउँदै राज्यमन्त्री अर्यालले अब ती युवालाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले केन्द्रबाट आएका विकासका योजनाहरुलाई स्थानीय तहले सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले भन्नुभयो, “आगामी दिनमा पनि व्यवसायीहरुको हकहितका लागि विभिन्न नीति नियमहरु पारित गरी कार्यान्वयन गर्ने तयारीमा छौं ।”
२०५४ सालमा स्थापना भएको वालिङ उद्योग वाणिज्य संघको सातौं अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने छ । (रासस)