Logo

अर्थमन्त्री र गृहमन्त्री दुई वर्षमा नै हट्ने संकेत, आज हुँदैछ फैसला



असार ४, काठमाण्डौ । राष्ट्रिय सभाका ५९ जना सदस्यहरुको कार्यकाल गोला प्रथाद्वारा आज टुंगो लगाईदैछ । राष्ट्रिय सभा नियमावली पारित हुन समय लागेपछि पहिलो बैठक बसेको साढे तीन महिनापछि मात्र सदस्यहरुको कार्यकाल टुंगो लाग्न लागेको हो । आज बिहान साढे ११ बजे बस्ने राष्ट्रिय सभा बैठकमा ५९ जना सांसदले चिठ्ठा तानेर आफ्नो कार्यालय तय गर्नेछन् । संघीय संसदका महाचिवको नेतृत्वमा निर्वाचन आयोगका सहसचिव, कानून मन्त्रालयका प्रतिनिधि, संघीय संसदको कानून शाखाका प्रतिनिधि र सचिवालयका कर्मचारीहरुको टोलीले गोला प्रथा गर्ने छन् ।

राष्ट्रियसभाका अध्यक्ष, सत्तापक्षको संसदीय दलका नेता र प्रमुख विपक्षी नेताबीच गोला तान्नमा पनि प्रतिस्पर्धा नै हुनेछ । प्रदेश चारबाट निर्वाचित खुला तीन सदस्यमध्ये तिमल्सिना अध्यक्ष छन् भने दिनानाथ शर्मा नेकपा संसदीय दलको नेता र सुरेन्द्रराज पाण्डे प्रमुख विपक्षी दलको नेता छन् ।

उनीहरुमध्ये गोला तानेर एकजनाको २ वर्ष, अर्को एकजनाको चार वर्ष र तेस्रो व्यक्तिको ६ वर्ष पदावधि तय हुनेछ । त्यस्तै गृहमन्त्री रामवहादुर थापा बादल र अर्थमन्त्री डा.युवराज खतिवडाको भाग्य फैसला पनि आजै हुनेछ । बादलको सांसद पदावधि २ वर्ष, ४ वर्ष वा ६ वर्ष कति भन्ने गोला तानेर तय हुनेछ ।

प्रदेश ३ बाट राष्ट्रियसभा सदस्य बनेका बादलसँगै नेपाली कांग्रेसका राधेश्याम अधिकारी र नेकपाका बलराम बास्कोटाले गोला तान्नेछन् । त्यस्तै अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रपतिबाट मनोनित तीन सांसदबीच गोला तान्नुपर्नेछ । खतिवडा,रामनारायण बिडारी र डा.बिमला राई पौडेलमध्ये कम्तिमा २ र बढीमा ६ वर्षको कार्यकाल हुनेछ ।

५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष गोलाप्रथाबाट तय हुनेछ ।

सबैभन्दा पहिले सातै प्रदेशका महिला सांसदहरुले क्रमशः प्रदेशगत रुपमा गोला तान्नेछन् । बट्टामा राखिएको गोला क्रमशः वर्णानुक्रमका आधारमा सांसदलाई बोलाएर टिप्न लगाइनेछ । सांसदले टिपेको गोला संसद सचिवालयका महासचिव वा उनले तोकेका प्रतिनिधिले खोलेर देखाउनेछन् ।

प्रत्येक प्रदेशका ३ महिला सांसदमध्ये एकजनाको २ वर्ष, एकजनाको ४ वर्ष र १ जनाको ६ वर्ष पदावधि हुने गरी गोलाप्रथाबाट टुंगो लगाइने फुँयालले बताए । महिलापछि सातै प्रदेशबाट निर्वा्चित सात दलित र सात अल्पसंख्यक तथा अपांग सांसदले गोला तान्नेछन् ।

दलित र अल्पसंख्यकको हकमा भने शून्य वर्ष पनि राखिएको छ । दुई दुई जनाले गोला तान्दा २, ४ र ६ वर्ष कार्यकालको हुने र एकजना बाँकी रहने भएकाले एक जनालाई शून्य वर्ष मानेर पुनः ४ वर्ष र ६ वर्षको गोला तान्न लगाइनेछ ।

अन्य खुलाबाट निर्वा्चित सात प्रदेशका २१ सांसद र राष्ट्रपतिबाट निर्वाचित ३ जनाले पनि गोला तानेर आफ्नो पदावधि निर्धारण गर्नेछन् । गोलाप्रथाबाट सांसदको निर्वाचन हुँदा निर्वाचन आयोग र कानुन मन्त्रालयका प्रतिनिधि पनि रहने सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्