Logo

इंग्ल्यान्डको विजयी सुरूवात, ट्युनिसिया २-१ ले पराजित



काठमाडौं, ५ असार । फिफा विश्वकपमा इंग्ल्यान्डले विजयी सुरूवात गरेको छ। सोमबार राति भएको समूह जी को दोस्रो खेलमा ट्युनिसियालाई २-१ गोल अन्तरले हराउँदै इंग्ल्यान्डले विजयी सुरूवात गरेको हो।

भोल्बोग्राड स्टेडियममा भएको खेलमा इंग्ल्यान्डलाई जिताउन दुवै गोल कप्तान ह्यारी केनले गरे। ट्युनिसियाका लागि फेर्जानी ससीले एक गोल फर्काएका थिए।

अत्यान्तै प्रतिस्पर्धात्मक खेलको ११ औं मिनेटमा केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ३५ औं मिनेटमा ट्युनिसियाका फेर्जानी ससीको पेनाल्टीमार्फत गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए। ट्युनिसियाका युसुफलाई इंग्ल्यान्डका वाल्करले डिबक्समा लडाएपछि ट्युनिसियाले पेनाल्टी पाएको थियो। जसमा ससीले गोल गर्दै खेल बराबरीमा ल्याए।

पहिलो हाफ एक-एकको बराबरीमा सकिएको खेलमा निर्धारित ९० मिनेटसम्म बराबरीमै थियो।

त्यसपछि खेलको इन्जुरी समयमा कप्तान केनले हेडमार्फत गोल गर्दै इंग्ल्यान्डलाई २ – १ को महत्वपूर्ण जित दिलाए।

यो जितसँगै इंग्ल्यान्डले समूह जीबाट बेल्जियमसँगै ३ अंक जोडेको छ। गोल अन्तरका आधारमा बेल्जियम शीर्ष स्थानमा छ भने इङ्ल्याण्ड दोस्रो स्थानमा छ। एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्