Logo

राजपा राजनीतिक समितिको बैठक चल्दै, यस्ता छन् छलफलका एजेण्डा



असार ५, काठमाण्डौ । पटक–पटक सर्दै आएको राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको बैठक हिजोदेखि सुरु भएको छ ।

राजपाको २७ सदस्यीय राजनीतिक समिति रहेको छ भने सात सदस्यीय सचिवालय रहेको छ ।

यही राजनीतिक समितिको बैठकले पार्टीको भविष्य निर्धारण गर्ने बताइएको छ ।
यसअघि राजनीतिक समितिको बैठक तीन पटक स्थगित भएको थियो ।

हिजो राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले विषय प्रवेश गराएको राष्ट्रिय जनता पार्टीका नेता जितेन्द्र सोनलले जानकारी दिए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै सोनलले हिजो प्रवेश गराइएको विषयमा आज छलफल भइरहेको बताए ।

समसामयिक राजनीतिक अवस्था, पार्टीको महाधिवेशन, विधान, संसदीय दलको विधान र नेता लगायतका विषयमा छलफल भइरहको उनले बताए ।

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका सोनलले पार्टीभित्र कुनै विवाद नभएको दाबी गरे । संयोजक ठाकुर सबैले मानेको नेता भएकाले उहाँकै नेतृत्वमा पार्टी अगाडि बढिरहेको र विवाद नभएको उनले दाबी गरे ।

पार्टीको दोस्रो वरियातामा राजेन्द्र महतो रहेकाले उनी पनि सन्तुष्ट रहेको सोनलले बताए ।

संसदीय दलको नेता सर्वसम्मत तरिकाले महन्थ ठाकुर नै चयन हुने सोनलले बताए । राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी लगायत अध्यक्षमण्डलका सदस्यहरुसँग कुनै विचार भए पार्टीभित्र राख्न सोनलले आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्