नारायण अधिकारी : चितवन, ७ असार / पर्यटकको आगमनमा कमी हुने समय पारेर सौराहाका होटल व्यवसायीले स्तरोन्नतिको काम थालेका छन् ।
असारमा वर्षभरि नै सबैभन्दा कम पर्यटक आउने गर्दछन् । जेठसम्म सामान्य अवस्थामा रहने भए पनि असारमा सौराहा क्षेत्र सुनसान हुन्छ । साउन लागेपछि क्रमशः पर्यटक आगमनमा वृद्धि हुँदै जान्छ ।
असारमा सरकारी निकायले बजेट सक्नका लागि गर्ने केही कार्यक्रमबाहेक अन्य कार्यक्रम हुँदैनन् । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार गत वर्ष बाढी पसेर क्षति पु¥याएका र मर्मत सम्भार नभएका होटलको मर्मत सम्भार अहिले भइरहेको छ । कतिपयले पौडी पोखरी अहिले बनाउँदैछन् भने कोठा थप्ने, सभाहल बनाउने, भान्साघर स्तरीय बनाउने, बगैँचामा बोटबिरुवा रोप्नेलगायतका काम गरिरहेका छन् ।
पर्यटक कम हुँदा काम गर्न सजिलो हुने भएकाले यही समय पारेर होटल मर्मत सम्भार र स्तरोन्नतिका काम गर्नतर्फ लागेको उहाँले बताउनुभयो ।
जंगल सफारी लजका सञ्चालकसमेत रहनुभएका घिमिरेले आफ्नो होटलमा पौडी पोखरी निर्माणको काम भइरहेको बताउनुभयो । सौराहाका ११० होटलमध्ये ११ वटामा पौडी पोखरीको सुविधा रहेको छ । अन्य होटलले पनि स्तरवृद्धिसँगै पौडी पोखरी निर्माण गर्ने तयारी गरेका छन् ।
क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष नारायण भट्टराईको जंगल वाइल्ड लाइफ क्याम्पमा पनि मर्मत सम्भारको काम भइरहेको छ । भट्टराईका अनुसार बगैँचा बनाउने, रंगरोगन गर्ने, गत वर्षको बाढीले बिगारेपछि मर्मत सम्भार नभएका कोठा यही मौका पारेर काम भइरहेको उहाँले बताउनुभयो ।
होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडी अहिले तीव्र गतिमा मर्मत सम्भारका कामलाई अगाडि बढाएको बताउनुहुनछ । रेस्टुराँ विस्तार गर्ने, वातानुकुलित कोठाको मर्मत गर्ने, कोठाभित्रको आन्तरिक सजावटमा परिवर्तन गर्ने तथा रंगरोगन गर्ने काम भइरहेको छ ।
गत वर्षको भदौमा बाढीका कारण सौराहाका सबै होटलमा क्षति पुगेको थियो । तत्काल सरसफाइ गरी होटल सञ्चालनमा आए पनि कतिपय होटलका केही कोठा सञ्चालनमा आउन सकेका थिएनन् । बगैँचा बिग्रिएका थिए । ती सबैको मर्मत सम्भार र स्तरोन्नतिको काम अहिले भइरहेको छ ।
सौराहाका ११० होटलमा दुई हजार ७५० कोठा छन् । पाँच हजारभन्दा बढी पर्यटक अट्नसक्ने व्यवसायीको भनाइ छ । चितवनमा पर्यटकीय होटलको संख्या १५० रहेको छ । होटल व्यवसायमा के–कति लगानी छ भन्नेबारेमा यकिन तथ्यांक नभए पनि सौराहामा मात्रै रु सात अर्बभन्दा बढीको लगानी भएको व्यवसायी बताउँछन् । पछिल्लो समय जग्गासहित खरिद गरेर होटल खोलिएका भए पनि पहिलेका होटल आफ्नै पुर्खाैली जग्गा वा सस्तो मूल्यमा किनेका जग्गामा बनेका कारण यकिन लगानी संकलन हुन सकेको छैन ।
केही वर्षअघिसम्म सौराहाका होटल व्यवसायीले यो मौसममा कर्मचारीलाई आधा तलब दिएर छुट्टि दिने गर्दथे । पछिल्ला वर्षमा भने आन्तरिक पर्यटक केहीमात्रामा आउने तथा होटल मर्मत सम्भार र स्तरोन्नति गर्न थालेपछि कर्मचारीलाई बिदा दिन छाडिएको छ । (रासस)