असार ११, काठमाण्डौ । विश्वकप फुटबलमा कोलम्बियाले पोल्याण्डलाई ३–० गोलले हराएको छ । यो जितसँगै नकआउट चरणमा पुग्ने कोलम्बियाको सम्भावना कायमै छ ।
तर लगातार दुई पटक हार व्यहोरेपछि पोल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ ।
हिजै भएको खेलमा जापान र सेनेगलले बराबरी खेलेर अंक बाँडेका छन् । अघिल्लो खेलमा जित हासिल गरेका दुबै टिमले यस खेलमा २–२ को बराबरी खेलेका हुन् ।
११ः४५ बजे भएको खेलमा कोलम्बियाको जितमा यरी मिना, राडमेल फल्काओ र जुहान कुवाड्राडाले गोल गरे ।
खेलको ४० औं मिनेटमा जेम्स रोड्रिग्वेजको पासलाई यरी मिनाले हेडमार्फत् गोल गरेर अग्रता दिलाएका थिए ।
७० औं मिनेटमा राडामेल र त्यसको पाँच मिनेटपछि नै जुहान कुवाड्राडोले गोल थपे ।
अब समूह एचबाट कोलम्बिया, जापान र सेनेगलमध्ये दुई टिम नकआउट चरणमा प्रवेश गर्नेछन् ।
यसअघि भएको खेलमा सेनेगलले दुई पटकसम्म लिएको अग्रता जोगाउन सकेन । जापानले भने दुई पटकसम्म पछि परेको अवस्था उल्ट्याउँदै सेनेगलसँग अंक बराबरी गरेको हो ।
खेलको ११ औं मिनेटमै सेनेगलले मानेको गोलमा अग्रता लिएको थियो । तर ३४ औं मिनेटका ताकासी इनवीले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा ल्याइर्पुयाए ।
७१ औं मिनेटमा मौसा वाग्वीको गोलमा सेनेगलले फेरि अग्रता लिन सफल भयो । तर त्यो अग्रता ७ मिनेट पनि टिक्न सकेन । जापानका होण्डाले ७८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
समूह एचमा रहेका जापान र सेनेगलले समूह चरणको पहिलो खेलमा जित निकालेका थिए । सेनेगलले पोल्याण्ड र जापानले कोलम्बियालाई हराएका थिए । बराबरीमा रोकिएपछि सेनेगल र जापान दुबैले एक खेल अघि नै नकआउट चरणमा जाने अवसर गुमाएका छन् ।
यस समुहमा जापान र सेनेगलको समान चारचार अंक छ भने कोरम्बियाको तीन अंक भएको छ । पोल्याण्डले भने दुई खेल हारेकाले अंकविहिन छ ।
अब दोस्रो चरणमा जाने दुई टिमका लागि जापान, सेनेगल र कोलम्बियाको सम्भावना छ ।
सबै एकएक खेल खेल्न बाँकी रहेको अवस्थमा जापान र सनेगलले बराबरी खेलेर एक अंकमात्रै जोडे पनि अघिल्लो चरणमा जानेछन् भने कोलम्बियाका लागि जित्नै पर्ने दबाब छ ।
अब जापानले पोल्याण्डसँग खेल्ने छ भने सेनेगलले कोलम्बियाको सामना गर्नेछ । जापानले पोल्याण्डसँग बराबरी गरेमा र सेनेगल कोलम्बियासँग पराजित भएमा जापान र कोलम्बिया अन्तिम १६ मा पुग्नेछन् ।
तर जापान पराजित भएमा सेनेगल र कोलम्बियाबीचको खेल बराबर नतिजाले सेनेगल अन्तिम १६ मा पुग्नेछ भने कोलम्बिया र जापानमध्ये गोल अन्तरमा अगाडि हुने टिम अन्तिम १६ मा पुग्ने छ ।
हेर्नुहोस विश्वकप २०१८ को सबै नतिजा