असार ११, काठमाण्डौ । सरकारले सार्वजनिक शिक्षा सुधारको लक्ष्यसहित तीन वर्षअघि अक्षरांकन पद्धतिबाट नतिजा प्रकाशनको थालनी गरे पनि उपलब्धि हासिल गर्न सकेको छैन ।
अक्षरांकन पद्धति कार्यान्वयनले राम्रा अंक ल्याउने विद्यार्थीको संख्या घट्दै गएको छ । यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले २०७४ सालमा सम्पन्न एसइईको परीक्षा असार ९ गते सार्वजनिक गर्यो । तर अपेक्षाअनुसार नतिजा सुधार हुनुको साटो राम्रा विद्यार्थीको संख्या घट्दै गएको छ ।
सम्बन्धित समाचार :
एसईईको नतिजा सार्वजनिक, नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण
पनिकाको लापर्बाहीले विद्यार्थीको भविष्य अन्यौल
२४ घण्टामा एसईईको अर्को नतिजा
यस वर्षको एसइईमा ४ लाख ५१ हजार ५ सय ३२ परीक्षार्थी सहभागी थिए । अधिकांश विद्यार्थी साहै्र कमजोर देखिए । डि ग्रेडमा जिपिए ०.८५–१.६ ल्याउने विद्यार्थीहरुको संख्या ९४ हजार २ सय ७२ छ, जुन संख्या कुल सहभागीको २०.८७ प्रतिशत हो ।
लामो समय शिक्षा मन्त्रालयमा रहेर काम गरेका पूर्व सचिव जनार्दन नेपालले अक्षरांकन पद्धति राम्रो वा नराम्रो भनेर भन्न नसकिने बताएका छन् ।
यसपटकको नतिजा हेर्दा चिन्ता बढेको भन्दै नेपालले नतिजामा पास र फेल नभनिए पनि २२ प्रतिशत विद्यार्थीले पुनः परीक्षा नदिइकन ११ कक्षा पढ्न नपाउने अवस्था रहेको बताए ।
यस्तै उच्च माध्यमिक विद्यालय संघका अध्यक्ष रमेश सिलवालले पनि एसइइको नतिजाले खुशी बनाउन नसकेको बताए ।
यसअघिका वर्षभन्दा अहिलेको नतिजा कमजोर भएको भन्दै सिलवालले पोहोरको भन्दा ७ प्रतिशत नतिजा खस्किएकाले खुशी मान्नुपर्ने स्थिती नरहेको स्पष्ट पारे ।