असार १४, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा परराष्ट्रविद डा. राजन भट्टराईले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भट्टराईले पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले चीन भ्रमणका क्रममा गरेका सहमति कार्यान्यन गर्नका लागि यसपटकको भ्रमणले बाटो तय गरेको बताए ।
प्रधानमन्त्री ओलीको दुईवटै भ्रमण उपलब्धिमुलक भएको उनको दाबी छ । विगतका सम्झौता महत्वपूर्ण भए पनि सरकार परिवर्तन भइरहने प्रवृत्तिले कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले अहिलेको सरकार स्थिर भएकाले सबै सम्झौता कार्यान्वयन गरेरै छाड्ने बताए ।
नेपालमा चीनबाट रेल ल्याउने कुरा चिनियाँ राष्ट्रपतिले नै बोलिसकेकाले यसमा शंका गर्न आवश्यक नभएको भट्टराईले बताए ।
“विश्वमा चिनियाँ राष्ट्रपति सि जिनपिङले बोलेका कुरा बढि गहनताका साथ लिइन्छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएको दुई पक्षीय वार्तामा नै नेपालमा रेल ल्याउने कुरा भइसकेपछि अब यसमा धेरै भनिरहनु पर्ने केही पनि छैन ।” भट्टराईले भने ।
जिनपिङले बोलेपछि हुन्छ भन्ने मान्यता विश्वभर रहेको दाबी गर्दै भट्टराईले अब रेल आउने–नआउने भन्ने बहस गर्न जरुरी नभएको बताए । यद्यपी चुनौतिपूर्ण काम भएकाले नतिजाका लागि भने केही वर्ष कुर्नुपर्ने उनको तक छ ।