काठमाडौं, १४ असार । विश्वकप फुटबलमा आज लिग चरणका खेल सकिंदैछन् । आज समूह जी र एच. का चार खेल भएपछि समूह चरणबाट राउन्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ ।
आज बेलुकी पौने ७ बजे समूह एच का दुई खेल हुनेछन् । भोल्गोग्राद एरिनामा जापान र पोल्यान्ड भिड्दा सामरा एरिनामा सेनेगलले कोलम्बियासँग खेल्नेछ ।
यो समूहका सुरुवाती दुई खेलबाट ४ अंक जोडेको जापान शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको सेनेगलको पनि ४ अंक नै छ ।
३ अंक जोडेको कोलम्बिया पनि अर्को चरणमा उक्लिने होडमा छ ।
पोल्यान्ड भने बाहिरिइसकेको छ । अर्को चरणमा पुग्न जापान र सेनेगलका लागि आजको खेल बराबरी गरे पुग्छ भने कोलम्बियालाई जित्नैपर्ने दबाब छ ।
आजै राति पौने १२ बजे समूह जी का दुई खेल हुनेछन् । कालिनिन्ग्राद रंगशालामा बेल्जियम र इङ्ल्यान्ड भिड्दा मोरदोभिया एरिनामा ट्युनिसियाले पानामाको सामना गर्नेछ ।
समूहबाट बेल्जियम र इङ्ल्यान्ड अर्को चरणमा प्रवेश गरिसकेका छन् । दुई टोलीबीच आज हुने भिडन्तले समूह विजेताको टुंगो लगाउनेछ ।