Logo

जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन : ज्ञवाली



असार १९, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता युवराज ज्ञवालीले अहिलेको सरकार जुन गतिका साथ अगाडि बढ्नुपर्ने हो त्यसरी बढ्न नसकेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले जनताको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको बताएका हुन् ।

यद्यपी केपी ओली नेतृत्वको सरकार बनेको चार महिना मात्रै भएकाले काम गर्ने समय अझै बाँकी रहेको ज्ञवालीले बताए ।

सरकारले प्रभावकारी काम गर्न सकेन भन्ने गुनासो आउन थालेको बताउँदै उनले भने, “जनताको गुनासो आउन थालेको छ । प्रधानमन्त्रीले पनि प्रयास गरिरहनुभएको छ । अरु मन्त्रीहरुले पनि काम गरिरहेका छन् । तर जनताले अनुभूति गर्न सकेको देखिदैन ।”

पार्टीले अहिलेसम्म सरकारको कामको मूल्याङ्कन नगरेको ज्ञवालीले बताएका छन् । सरकारले के कति काम गर्यो भन्ने कुराको रिपोर्टिङ पार्टीभित्र नभएकाले पनि अहिले समिक्षा गर्न नसकिने उनले बताए ।

अब छिटै स्थायी समिति बैठक बसेर सरकारले गरेका कामको मूल्याङ्कन गरिने उनले बताए ।

बैठकमा तल्लो तहसम्म पार्टी एकतालाई कसरी मूर्त रुप दिने भन्ने विषयमा पनि छलफल गरिने जानकारी दिदै ज्ञवालीले अहिले पनि गृहकार्य भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्