Logo

बाहिर चर्चा भएजस्तो पार्टीभित्र धेरै टुटफुट छैन : साउद



असार १९, काठमाण्डौ । नेपाली कांग्रेसका नेता एन पी साउदले बाहिर चर्चा भएजस्तो पार्टीभित्र धेरै टुटफुट नभएको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता साउदले पार्टीभित्र फाट्टफुट्ट फरक मत मात्रै भए पनि मिडियाले अतिरञ्जित गरेको आरोप लगाए ।

पछिल्लो महाधिवेशनको केही तुष बाँकी रहेकाले पार्टीभित्रकै नेताहरुले सभापति शेरबहादुर देउवालाई विभिन्न आरोप लगाउने गरेको साउदले बताए ।

“गत महाधिवेशनमा प्रतिस्पर्धा गर्नुभएका केही नेताहरुले महाधिवेशनको परिणामलाई आत्मसाथ गर्न सक्नुभएको छैन । तर बाहिर आएको जति विवाद भने छैन ।” उनले भने ।

पार्टीभित्रका नेताहरुले लगाएका आरोपलाई सभापति देउवाले विस्तारै सम्बोधन गर्दै जाने देउवा निकट मानिने नेता साउदले बताए ।

सभापति देउवा पार्टी र प्रजातन्त्र सुदृढीकरणको अभियानमा लागेकाले तत्काल उनको विकल्प नभएको साउदको भनाई छ

आगामी दिनमा कसरी अघि बढ्ने र पार्टीलाई कुन ढंगले लैजानेबारे समिक्षा तथा भावी योजना तय गर्ने उद्देश्यले सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज विशेष भेट हुँदैछ ।

आजको भेट महासमिति बैठक, विधान समिति, संसदी फाँट र प्रतिपक्षको भूमिका शसक्त बनाउने विषयमा केन्द्रित हुने साउदले बताए ।



प्रतिक्रिया दिनुहोस्