Logo

EXCLUSIVE :देउवा र पौडेलबीच ऐतिहासिक मिलन, यस्तो भयो सहमति



असार १९, काठमाण्डौ । सधैँभरी आन्तरिक किचलोमा रुमलिएको नेपाली कांग्रेसले पछिल्लो समय एकताको सन्देश दिने प्रयासमा छ ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कतिपय अवस्थामा पानी बाराबारकै स्थिती आएको थियो । पछिल्लो समय भएको तीनै तहको चुनावमा कांग्रेसले भोगेको लज्जास्पद पराजयपछि पौडेल पक्षले देउवालाई आरोप लगाउँदै आएको थियो ।

देउवाको नेतृत्व कमजोर भएका कारण पार्टीले पराजय भोगेको भन्दै पौडेल पक्षले देउवालाई नेतृत्व छोड्नसमेत दबाब दिदै आएका थिए ।

तर आज दुई नेताहरुको मिलन प्रशंशायोग्य देखिएको छ । सभापति देउवाले पौडेल लगायतका नेताहरुलाई भेटघाटका लागि बोलाएका थिए । देउवाको निम्तोमा १८ जना शीर्ष तहका नेताहरु एकै ठाउँमा भेला भएका थिए ।

सौहाद्र तरिकाले भेटघाट सम्पन्न गर्ने रणनीति लिएका देउवाले आफैले बोलाएको बैठकमा विषय प्रवेशको मौका पौडेललाई दिएर माहौल झन खुशीयाली बनाएका थिए ।

बैठक लगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार देउवाले बोलाएको बैठकको विषय प्रवेश गराएका पौडेल पनि निकै खुशी देखिएका थिए ।

पार्टी सुदृढीकरण, सरकारप्रतिको दृश्टीकोण लगायतका विषयमा भएको छलफलमा संसदमा प्रतिपक्षीको रुपमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय भएको छ । संविधानअनुसार सभामुख र उपसभामुख फरक फरक दलबाट हुनुपर्छ भन्ने कुरालाई सशक्त रुपमा उठाउने निर्णय बैठकले गरेको शर्माले बताए ।

“कांग्रेसलाई सभामुख वा उपसभामुख कुनै पनि पद चाहिँदैन । तर संविधानअनुसार फरक फरक दलबाट हुनुपर्ने कुरालाई कांग्रेसले स्थापित गराएरै छाड्छ ।” बैठकपछि निर्णय सुनाउँदै प्रवक्ता शर्माले भने ।

त्यसैगरी चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशनरत प्रा. डा. गोविन्द केसीको मागलाई समर्थन गर्ने निर्णय पनि कांग्रेसले गरेको छ । यता द्धन्द्धकालमा छोराको हत्या गर्ने हत्यारालाई कारबाहीको माग गर्दै वीर अस्पतालमा अनशन बसिरहेका गंगामाया अधिकारीको जीवन रक्षा र उनको माग पूरा गराउन पनि सरकारलाई दबाब दिने निर्णय कांग्रेसले गरेको छ ।

सम्बन्धित समाचार : 

देउवा र पौडेलको एकाएक मन मिल्यो, भोलि विशेष भेट !

पछिल्लो समय सरकारले विभिन्न स्थानलाई निषेधाज्ञाको रुपमा तोकेको पनि कांग्रेसले विरोध गर्ने भएको छ ।,

पार्टीको आन्तरिक संगठन मजबुत बनाउनका लागि जतिसक्दो महासमिति बैठक बोलाउने विषयमा पनि सहमति भएको शर्माले बताए ।

त्यसैगरी विधान समिति गठन गर्ने विषयमा पनि आजको बैठकमा छलफल भएको थियो । अहिलेसम्म गठन हुन नसकेका विभागहरु पनि अब गठन गर्ने सहमति भएको छ ।

समग्रमा पार्टी एकढिक्का भएर अगाडि बढ्ने विषयमा सबै नेताहरु एकमत भएको शर्माले बताए ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्धय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का सहभागि थिए ।

त्यसैगरी बैठकमा विजयकुमार गच्छादार, विमलेन्द्र निधी, प्रकाशशरण महत, कोषाध्यक्ष सितादेवी यादव, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुननरसिंह केसी, डा. रामशशरण महत, मिनेन्द्र रिजाल, बालकृष्ण खाँड र विश्वप्रकाश शर्माको उपस्थिती थियो ।

१३ औँ महाधिवेशनदेखि नै दुई नेताबीच तिक्तता बढ्दै गएपछि कांग्रेसमा मेलमिलाप छैन भन्ने सन्देश जाने गरेको थियो । तर आजको बैठकले कांग्रेसभित्रको विवाद बाहिर चर्चा गरिएजस्तो चर्को नभएको विश्वप्रकाश शर्माले बताए ।



प्रतिक्रिया दिनुहोस्