Logo

दश वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउन सकिँदैन् : आचार्य



‘फिर्ता लिनको लागि निषेधित क्षेत्र घोषणा गरिएको होईन’

काठमाडौं, २० असार । नेकपाका स्थायी समिति सदस्य भीम आचार्यले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीले राखेका अन्य माँगहरु राम्रा भएपनि दश वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न हुँदैन भन्ने माँग आफूले नबुझेको स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हो, उहाँ चिकित्सा शिक्षामा देखिएको बेथिति हटाउन राम्रो मनशायले अनशन बस्दै आउनुभएको छ, तर तर वर्षसम्मपनि काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्नै हुँदैन भन्ने कुरा मैले बुझेको छैन्।’ सरकारले तय गरेको स्तर वा मापदण्ड पूरा गरेका मेडिकल कलेजहरुलाई सम्बन्धन दिनुपर्ने उनको जोड छ । उनले भने,‘सरकारले तोकेको स्ट्याण्र्ड मेन्टेन गर्ने कलेजहरुलाई सम्बन्धन दिन रोक्नुहुँदैन्, तीनलाई सम्बन्धन दिनुपर्छ।’

अहिले नेपालमा डाक्टर पढ्न नपाएर हजारौंको संख्यामा भारत, चीन, बंगलादेश र चीन लगायतका देशमा नेपाली विद्यार्थीहरु पढ्न जानुपर्ने बाध्यता रहेको सुनाउँदै उनले नेपालमै पढ्ने वातावरण बनाउनुपर्ने बताए । आचार्यले भने,‘अहिले नेपालबाट डाक्टर पढ्नको लागि अर्बौं रुपैयाँ विदेश बाहिरिएको छ, यो राक्नको लागि पनि नेपालमा स्तरीय मेडिकल कलेजहरु सञ्चालनमा आउनुपर्छ।’ नेपालमै स्तरीय कलेजहरु खोल्न सके विदेशबाट पढ्न यहाँ आउने ठूलो संभावना रहेको उनको भनाई थियो ।

उनले भने,‘अहिले अष्ट्रेलियामा विभिन्न देशबाट पढ्न आउने विद्यार्थीहरुको संख्या धेरै ठूलो छ, यसको कारण चार प्रतिशत मुलुकलाई आम्दानी भैरहेको रहेछ, त्यसैले डाक्टर केसीले उठाएका अरु विषयहरु ठीक छन्, तर दशवर्षसम्म काठमाडौंमा मेडिकल कलेज खोल्न हुँदैन भन्ने कुरामा म सहमत छैन्।’ उनले चिकित्सा शिक्षा सुधारसम्बन्धी आएको माथेमा आयोगको प्रतिवेदन समेत ए टु जेड ठिक नहरेको जिकिर गरे । ‘काठमाडौंमा अनशन बस्न छोडेर उहाँ किन जुम्ला जानुपर्यो’ उनले प्रश्न गरे,‘यो कुरा पनि मैले बुझन सकेको छैन्।’

सरकारको कारणले गर्दा डाक्टर केसीको उपचारमा कुनै बाधा तथा अवरोध नभएकोपनि आचार्यको स्पष्टोक्ति थियो । उनले भने,‘उहाँकै स्वार्थका कारण उपचार नभएको हो, उहाँले देशभरि नै घोषणा गरिएको निषेधित क्षेत्रहरु फिर्ता लिन भनिरहनुभएको छ, तर म यही मञ्चबाट भन्छु, सरकारले फिर्ता लिनको लागि निषेधित क्षेत्र घोषणा गरेको होईन्, त्यसैले कुनै हालतमापनि फिर्ता हुँदैन्।’ आचार्यले ५० जनाको जुलुसले गर्दा ५ लाखलाई प्रत्यक्ष असर पर्ने हुँदा सरकारले निषेधित क्षेत्र तोकेको बताउँदै यसलाई सरकारको सही निर्णय भएको पनि दाबी गरे ।

त्यस्तै उनले अनशनरत गंगामाया अधिकारीकोपनि समस्या हल गर्नुपर्नेमा जोड दिए । यद्धपी उनले द्धन्द्धकालिन मुद्दा भएकोले सरकारले यसअघि नै गठन गरेका बेपक्ता व्यक्ति छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत निकास खोजिनुपर्ने स्पष्ट पारे । उनले भने,‘द्धन्द्धकालमा निर्दोष मानिसहरु मरेका छन्, अन्यायमा परेकाहरुलाई न्याय दिनुपर्छ, तर २ वटा आयोगले ठिक ढंगले काम गर्न सकेनन्।’

फरक प्रसँगमा उनले वर्तमान सरकारले भर्खरै आफ्नो मधुमाश पूरा गरेको उल्लेख गर्दै अब छिट्टै सरकारले गति लिने विश्वास दिलाए । उनले भने,‘सरकारले भर्खरै मधुमास पूरा गरेको छ, यो बीचमा दुवै छिमेकी देशको भ्रमण गरेको छ, केही राम्रा सम्झौताहरुपनि भएका छन्, अहिले जनताका अपेक्षाहरु अपार छन्, सरकार पूर्ण बहुमतमा भएकोले अब बहानावाजी गरेर उम्किने ठाउँ छैन।’

कांग्रेसले सरकारमाथि लगाएका आरोपहरु आगामी ५ वर्ष सरकार बाहिर बस्नुपर्ने छट्पट्ीका कारणमात्रै आएको उनको भनाई छ । उनले भने,‘कांग्रेसको पूरानो रोक आफूबाहेक अरुलाई सरकारमा गएको देख्न चाहँदैन्, अहिले कांग्रेसले सरकारमाथि लगाएका आरोपहरुमा कुनै तुक छैन्।’ ५ वर्ष सरकार बाहिर बस्नुपर्ने भयो भन्ने पीडका कारण कांग्रेसले सरकारको आलोचना गरेपनि बजारमा हल्ला भएजस्तो अब कांग्रेस आक्रमक बन्दैछ र कडा आन्दोलन गर्दैछ भन्ने कुरा सुनिएपनि यदि भनेजस्तो नै गर्ने हो भने यो गलत हुने उनको तर्क छ । उनले भने,‘यसले कांग्रृेसलाई घाटा हुन्छ, कांग्रेस बरु रचनात्मक प्रतिपक्षी बनेर आओस्।’



प्रतिक्रिया दिनुहोस्