असार २१, काठमाण्डौ । डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै आएका डा.जीवन क्षेत्रीले जनसरोकारका विषयमा सकारात्मक सुधारका लागि १५ पटकसम्म अनशन बस्नु लोकतान्त्रिक विधि भएको बताएका छन् ।
सरकारले पछिल्लो समय लोकतन्त्रविरोधी चरित्र देखाएको आरोप लगाउँदै क्षेत्रीले जनताको माग पूरा गराउनका लागि केसीले उठाएका मुद्दा जायज भएको जिकिर गरे ।
सम्बन्धित समाचार :
सरकार जनताको पक्षमा छ, कांग्रेस वा गोविन्द केसीले भनेजस्तो कानुन बन्दैन : पौडेल
डा.केसीको स्वास्थ्य अवस्था गम्भिर, प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै क्षेत्रीले विगतदेखि अहिलेसम्मका सरकार इमानदार भइदिएको भए एउटै व्यक्ति एउटै मागका लागि १५ पटकसम्म अनशन बस्नुपर्ने अवस्था नआउने बताए ।
अहिलेको सरकार त झन वार्ताका लागि तयार नै नभएको क्षेत्रीको अरोप छ । सरकारले वार्ता गरेर सहमति खोज्नुपर्नेमा जोड दिए ।
२,४ जना राजनीतिक व्यक्तिको स्वार्थका लागि सरकारले चिकित्सा शिक्षा विधेयक तोडमोड गरेको आरोप लगाउँदै क्षेत्रीले गोविन्द केसीलाई लोकतन्त्रविरोधी भन्नेहरु निहित स्वार्थमा डुबेको बताए ।
अहिले देशभित्रको स्वास्थ्य शिक्षामा कालोबजारी भएका कारण हजारौँ युवाहरु मेडिकल शिक्षाका लागि विदेश जानुपर्ने बाध्यता रहेको क्षेत्रीको भनाई छ ।
डा. केसीको मागअनुसार सरकार चल्ने हो भने मेडिकल शिक्षा सस्तो र सुलभ हुने उनको दाबी छ ।
पाँच दिनदेखि जुम्लामा अनशन बसिरहेका केसीको स्वास्थ्य अवस्था विग्रदै गएको क्षेत्रीले बताएका छन् ।
जुम्लामा उपचार सम्भव नभए काठमाण्डौ लानुपर्ने तर त्यसका लागि केसी मान्ने अवस्थामा नरहेको क्षेत्रीले बताए ।