Logo

विनियोजन विधेयकमाथिकाे छलफल जारी



काठमाडौं, २२ असार । विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार मन्त्रालयका विभिन्न शीर्षकमाथि आज राष्ट्रियसभामा छलफल भइरहेको छ।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगको सचिवालय एवं रक्षा, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ।

प्रमुख प्रतिपक्षी दलका सांसद रमेशजंग रायमाझीले विनियोजन विधेयक, २०७५ अन्तर्गत भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकम घटाइ रु एक गरियोस् भनी खर्च कटौती प्रस्ताव प्रस्तुत गरेका थिए।

सांसद रायमाझीले मुलुकलाई आर्थिक समृद्धिमा लैजाने हो भने साना सडक भन्दा ठूला सडकका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा बजेटमा त्यस्तो नभएको बताए।

उनले भने, “महानगरपालिकाका लागि विनियोजित रकम अपुग भएको र सेनामा पनि फाष्ट ट्र्याकको नाममा आफ्ना मान्छेलाई मात्र बढुवा दिने प्रवृत्ति देखिएकाले त्यसलाई रोक्न आवश्यक छ।”

यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पार्टीका राष्ट्रियसभाका सांसद मुक्ताकुमारी यादवका छोरा लोकेशको हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सरकारसँग माग गरेको छ।

नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद बद्रीप्रसाद पाण्डेले सांसद यादवका छोरा लोकेशको हत्यारालाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरेका हुन्। राष्ट्रियसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले सवारी दुर्घटना नभई लोकेशको हत्या भएको देखिएको दावी गर्दै दोषीलाई पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरेका हुन्।

गत चैत्र २ गते धनुषाको पोर्ताहामा सांसद यावदका छोरा लोकेशको धारिलो हतियार प्रयोग गरी हत्या गरेको काँग्रेसको दावी छ । हत्याको जिम्मेवारी स्वतन्त्र तराई मधेश निर्माण सेनाले लिएको दावी गर्दै सांसद पाण्डेले त्यस सम्बन्धनमा उचित छानवीनका लागि केन्द्रीय स्तरमै छानवीन समिति गठन गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

लोकेशको हत्या गरेपछि भारतीय नम्बरबाट सांसद मुक्ताकुमारीको परिवारलाई नै सखाप पारिदिने धम्की आउने गरेको पनि सांसद पाण्डेले संसदलाई जानकारी गराए। उनले मधेशको विरुद्ध रहेकाले सांसद यादवका छोरा लोकेशलाई हत्या गरिदिएको दावी पनि सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको उल्लेख गरे।

गत चैत्र २ गते मोटरसाईकल दुर्घटनामा मृत्य भएको भनिएका सांसद यादवका छोरा लोकेश घटनाको प्रकृति हेर्दा हत्या गरिएको पुष्टि भएको काँग्रेसको दावी छ । सांसद यादवले पनि केही दिन अघि छोराको हत्या भएको दावी गर्दै घटनाबारे अनुसन्धान गर्न केन्द्रीय स्तरमै समिति गठन गर्न गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराए।



प्रतिक्रिया दिनुहोस्