Logo

गोविन्द केसीसँग गरेका सम्झौता पालना गर्नका लागि सरकार नैतिकवान हुनुपर्छ : कर्ण



असार २३, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले संसदीय दलको नेता को बन्ने विषयमा विवाद नभएको जिकिर गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कर्णले चुनावी प्रक्रियाबाट संसदीय दलको नेता चयन गरिने बताए । को बन्ने भन्ने विवाद नभए पनि नाम भने टुङ्गो नलागेको कर्णले बताए ।

आजको बैठकले संसदीय दलको विधान पास गरेपछि छलफल गरेर सर्वसम्मत रुपमा दलको नेता चयनको प्रयास गर्ने कर्णले बताएका छन् ।

पछिल्लो समय सरकारले गरेका कतिपय काम गलत भएको भन्दै कर्णले आक्रोष व्यक्त गरेका छन् । शान्तिपूर्ण रुपमा गरिने विरोध र प्रदर्शनमा रोक लगाउनु लोकतन्त्रविपरित भएको कर्णले बताए ।

बहुमतको सरकार भन्दैमा संविधान विपरित कुनै पनि काम गर्न नहुने उनको तर्क छ । संविधानमा भएको वाक स्वतन्त्रताविरुद्ध अहिलेको सरकार उभिएको आरोप कर्णले लगाए ।

डा. गोविन्द केसीसँग विगतमा सरकारले गरेका सम्झौता पालना गर्नुपर्नेमा कर्णले सरकारको ध्यानाकर्षण गराएका छन् ।

“सरकार नैतिकवान हुनुपर्छ । कुनै एक व्यक्ति,दल वा संस्था जोसुकैसँग गरेको सम्झौता पालना गर्नुपर्छ । सरकार फेरिदैमा सम्झौता फेरिदैन ।”



प्रतिक्रिया दिनुहोस्