काठमाडौँ, ३१ असार / प्रतिनिधिसभाको आजको बैठकले संविधानसभाका पूर्व सदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्व राज्यमन्त्री आलमको ५३ वर्षको उमेरमा यही असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो ।
उहाँ २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट रौतहट क्षेत्र नं २ बाट संविधानसभाको सदस्यमा निर्वाचित हुनुहुन्थ्यो ।
बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव पढेर सुनाउनुभएको थियो । साथै, स्व आलमको निधनमा एक मिनेट मौनधारण पनि गरिएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक भोलि सोमबार अपराह्न १ः०० बजे बस्नेछ । (रासस)