Logo

म त यसकारण डा. केसीको पक्षमा, तपाई नी ?



. देबी राम थापा– (PhD) : अहिले हरेक डिजीटल मिडीयामा महत्त्वका साथ लेखीएको बिषय छ डाक्टर गोविन्द केसी र यिनको अनसन। साथै यिनका पक्ष/बिपक्षमा पनि धेरै कुराहरू लेखीएका छन। मुख्यत: राजनितीक पार्टी निकट रहेर काम गरीरहेका साथीहरू, कृपया एक पटक आफ्ना शान्तीप्रिय नेताहरूलाई सोध्नुहोला, हत्या अभियोगमा सजाय पाएका कैदीलाई किन छोड्यौ भनेर,साथै सोध्नु होला देशमा बिकासको मुल फुटाई अन्तराष्ट्रीय पुरस्कार पाउने नेताहरूलाई, देशलाई यो हालतमा किन पुर्याउनु भयो भनेर । अनि लेख्नुहोला, बोल्नुहोला अनि टुडीखेल मैदानमै बसेर बहस गर्नुहोला डा. के. सी.को मुद्दामा।यी मुद्दाहरू बिशेषत: कांग्रेस र भु.पु. एमालेका उर्जाशील नेता र नेता हुन तरखर भई बस्नुहुने साथीहरूलाई, छ ऑट, सोघ्नुस अग्रजहरूलाई।

शुरू गरौं, कांग्रेसको चुनाबी चहलपहल र उसले निकालेको निचोडबाट। काग्रेस निर्वाचनमा पत्तासाफ भएको उसका गलत क्रियाकलापले गर्दा नै हो नकी तत्कालीन एमाले माओवादी चुनावी गठ्बन्धन। गठ्बन्धन त सहायक कारण हुन् प्रमुख काण त गलत राजनैतीक निर्णयले गर्दानै हो। कांग्रेस अझै सुध्रीएको छैन र उ सत्तामा जानका लागी लायक पनि भैसकेको छैन।काग्रेसको सुधारोन्मुख हिसाबको आकलन गर्दा अझै कम्तीमा पनि १५-२० बर्ष सत्तामा जान लायक देखीदैन। चुनाव अगी र पछि कांग्रेसी नेताहरू आफ्ना आसेपासे र भरौटेहरूलाई भन्थे, हामीले गरेको राम्रो काम जनतालाई बुझाउन सकेनौ, त्यसकारण चुनाव हार्यौ। अझै पनि लाजै नमानी बेलाबेलामा बर्बराउछन। साच्चैनै कांग्रेस हारेको जनतालाई बुझाउन नसकेर हो त? होईन, उसका गलत कार्यहरू जस्तै अदालत देखी पुलीसमा हस्तक्षेप र अरू धेरै यस्ता कार्यहरू, जसलाई जनताले सूक्ष्म रूपमा नियालेका थिए र अझै पनि नियालीरहेकाछन्। भरौटे र आसेपासेले नबुझे पनि जनताले राम्रोसंग बुझेका थिए र छन् साथै उसले खेलेको प्रतिपक्षी भुमीका पनि चनाखो भै हेरीरहेका छन्।

अब जाऔ सरकारतर्फ, सत्ताधारीदलका नेताहरूले पनि कांग्रेसको यो नाटक मन्चनलाई त नजिकबाट हेरीरहनु भएको थियो र छ भन्ने कुरा त नेताले गर्ने गफ, भाषण र यसमा प्रयोग भएका उखान टुक्का मार्फ़त हामीले हेर्न सुन्न पाएका थियौ र छौ पनि। नेताले चेत्नु भन्दा पनि राजनैतिक खपतका लागी अरू पार्टीका नेतालाई गाली गर्न पर्यो भने सम्झन्छन नत्र बिर्सीहाल्छन्। ल हेर्नुस त, कति चाडै दुई तिहाई बहुमतवाला राष्टबादी प्रधानमन्त्री पनि आफ्ना आसेपासे र भरौटे सामु सोही कुरा बर्बराउदै छन्, हामीले जनतालाई बुझाउन सकेनौ भनेर। नक्कल गर्नु छ असफल प्रतिपक्षीबाट, त्यों पनि नराम्रो कामको। असली कार्यकर्ता भन्न रूचाउने तपाईहरू आफ्ना नेताहरूलाई सम्झाउनुस, सुशासनमा देश चलाउनुस नकि घनबाद र डनबादमा। यहॉ त “बुढी मरी भन्दा पनि काल पल्क्यो” भन्ने पो पीर भयो । नेताहरूले यो देशमा धेरै कुराहरू फेल गराउनु भएको छ, कृपया यो उखानलाई पनि फेल गराउन सहयोग गर्नुस् तपाईका नेताहरूलाई। सत्ताधारी दलका नेताहरूको गलत हर्कत र कामले गर्दा सत्ताको लागी लायक भैनसकेको प्रतिपक्षी फेरी सत्ताको स्वाद चाख्न सत्तामा आउने कोशीशमा लाग्ने भो।हामीलाई एउटा नालायक हटाएर आर्को नालाएकलाई सत्तामा देख्नु छैन। साथै तपाई असली कार्यकर्ता हो भने आफै पनि लायक बन्ने कोशिश गर्नुस, न की ख़ाली नालायकको अधिनमा रही उसको जुठोपुरो मात्र खाएर बाच्नु पर्ने परजिबी। हामी पनि हजुरहरूको जयजयकार गरौला।

कुरा गरौं अब डा. गोबिन्द के. सी.को पन्ध्रौं सत्याग्रहबाट। शायद सबैलाई धेरै थोरै थाहॉ पनि छ, यी मनुवा को हुन् भनेर। त्यसैले यिनलाई अौला ठड्याउने जमात भन्दा क्यौ गुणा धेरै यिनको समर्थनमा उभिएका छन्। याहॉ राजनिती नेपालीको रसरसमा घुसाईएको छ र त्यसैले काम गर्ने पौरखी हातहरू बनाउन भन्दा भत्काउन अगाडी छन्।बचाउन भन्दा मार्न उद्दत छन्।हाम्रा नेता भनाउदाहरू आफ्नो फाईदाको लागी देशों बेच्न परे पनि पछि पर्दैनन् भन्ने कुरा त यिनले गरेको ब्यवहारले पनि छर्लग्गै पारेको छ। मिडीयामा यो पनि देखीयोकी डा. केसीको मागहरूमा प्रतिपक्षी लगायतका अरू पार्टीहरूले समर्थन गरेको कारण यो राजनैतिक मुद्दा भयो, त्यसकारण डा. केसीले अनसन तोड्नु पर्छ।अझै समय छ, यो मुद्दा कांग्रेसलाई भन्दा सत्तासीनका नेताहरूलाई नै सुहाउछ र समस्या समाधान पनि सजिलोसंग गर्न सक्नुहुन्छ। अनि एकपटक सम्झाउनुस् नेताहरूलाई, आफु प्रतीपक्षी हुदा उनको समर्थनमा गरेको भाषण र हस्ताक्षरको बारेमा।फेरी पनि हामी हजुरहरूकै नेताहरूको जयजयकार गरौला।

सत्ताधारी दलका नेताहरूको गलत हर्कत र कामले गर्दा सत्ताको लागी लायक भैनसकेको प्रतिपक्षी फेरी सत्ताको स्वाद चाख्न सत्तामा आउने कोशीशमा लाग्ने भो।

मरेको लासमा राजनिती हुने ठाऊमा, जिउदो आत्मा माथी राजनिती छैन भन्ने कुरामा त म पनि काहॉ बिश्वास गर्छुर। तर मलाई डा. के सी को हुन् भन्दा पनि उनले उठाएका एजेण्डा ठीक छन् भन्ने हो र यो एजेण्डाले राम्रो निकास पाएमा अरूतिरका बिकृतीमा पनि क्रमीक सुधार हुन्थ्योकी भन्ने हो। मेरा एक मित्र ( राम राज शर्मा – जलस्रोत बिज्ञ) ले लेख्नु भएको थियो, इन्जीनियरिंगमा पनि अर्कों गोबिन्द के. सी. चाईयो भनेर। तर के गर्नु नाम गोबिन्द भएका धेरै भए, छन र यही बिचमा पनि धेरै जन्मिए होलान् तर कर्म गोबिन्द भएका पाउन धेरै गार्हो रहेछ।

डा. गोबिन्द के.सी. लाई समर्थन गर्नका पछि मेरा आफ्नै कारण छन प्रधानमंत्री ज्यूँ। किनकी यसको पीडीत म आफै पनि हुँ।बिरामी बुवालाई शिक्षण अस्पताल महाराजगंजको ईमर्जेन्सीमा ल्याएको, एउटा बेडमा चार जना सुत्न पाएमा त भाग्यमानी। नत्र चिसो छिड़ीमा बिरामी शरीर। ल भन्नुस प्रधानमन्त्री ज्यूँ , यो भेडीगोठ हो की देशको सुबिधासम्पन्न अस्पताल। ईमर्जेन्सीमा त ठाऊ पाईएन भने वार्डमा बेड काहॉबाट पाउनु, दुई दिन लगाएर आउनुपर्ने गाउको मान्छेले। सहयोगी मन, ईमर्जेन्सीका डाक्टर देखी अरू सिनीयर डाक्टर सम्म तैयार भए सहयोग गर्न। तर त्यो सहयोग अबैधानिक यसकारण थियो की सरकारी डाक्टर भैकन पनि त्यो समय उहॉहरूले निजी अस्पतालमा दिनुहुन्थ्यो र शायद त्यसबापत राम्रै प्रतिफल पनि।

समय र परिस्थितिले यसरी च्याप्दो रहेछकी थाहॉ हुदाहुदै पनि ठगिन तैयार हुनु पर्ने रहेछ, जसरी कसाईले मार हान्न ठीक पारेको खसी जस्तो। आज एउटा भिडीयो क्लिप देखे, प्रधानमन्त्रीज्यूँको, आखॉ रसाएको तुईन पीडीतको केसमा। शायद त्यो समयमा तपाई प्रधानमन्त्री भएर म सगैं रून आईदिएको भए, मज्जाले रोएर आत्मा हल्का पार्ने थिए। नेपाली उखान छ नि, ”श्वास रहिन्जेल ऑस” , के गर्नु, डाक्टरको सिफारीस अनुसार लगियो निजी अस्पताल रातीको १ बजे। जब त्यहॉ पुर्याईयो, कर्मचारी देखी डाक्टर सम्मको अनुहारमा चमक देख्दा लाग्थ्यो कसरी मुर्गा बनिदैछ। अझ यसमा कोही आफन्त बिदेश छन् भन्ने थाहॉ पाए पछि त झन् के चाहीयो।

आखिर त्यहाँ पनि महान ब्यक्तीको नाम धरौटी राखेर सेवा बेचीदो रहेछ। तैपनि यति निरीह बनिदोरेछ की तम्शरणम् बाहेक केही गर्न नसकीने।नियति जे हुनु थियो भएरै छाड्यो। शायद म पनि हजुरहरू जस्तै सरकारी मेहमान भएको भए, एयरएम्बुलेन्स सहित दिल्ली बैकक वा अमेरीका लैजान्थे होला। आफु परियो गाऊले सामन्ती पूँजीपति,तर सम्पती सर्बहाराको जति नि भएन। त्यो समय हजुर मेरो अगाडी भएको भए, सगैं रून पाईन्थ्यो, हजुरको ईच्छा पनि पुरा हुन्थ्यो मेरो मन पनि हल्का हुन्थ्यो।तर के गर्नु , रून छोडेर पैसा खोज्न दौडीनु पर्यो प्रधानमन्त्री ज्यूँ , नत्र त लास पनि नपाईने। आफ्न्तको मृत्युको पीड़बोध हजुरलाई कति छ त्यो त थाहा भएन तर तपाईका सत्तादौतरी पुर्ब प्रधानमन्त्री छबीलाल दाहाल र उहॉकी धर्मपत्नीलाई सोध्नुस, पीड़ा कस्तो हुनेरहेछ। शायद त्यसैले होला, हिजो दुत्कारेका मठ मन्दिर पनि आज प्रिय लाग्दैछन्।शायद तपाईहरू संग सोध्ने ऑट त छ की छैन, छ भने पिडा के हो भनेर सोध्नु होला गोर्खा फुजेलकी गंगामायालाई।

एक समय थियो, केही नेताहरू ( मुलत: भु. पु. माओबादीहरू) रूनमा खप्पीस थिए। मिडीया देख्योकी रोईहाल्ने।यिनीहरूले त फिल्मी कलाकारलाई समेत माथ गरेका थिए। फिल्मी कलाकारलाई पनि रूनको लागी त के के दल्नु पर्दथ्यो तर नेताहरूलाई त्यो पनि नपर्ने, रोईहाल्ने। कतै यो रोग भु.पु. एमालेका नेतालाई पनि सर्योकी। किनकी मानबीय ब्यबाहार नै राम्रो भन्दा नराम्रो कुरा सिक्नमा उद्धत छ र सजिलै सिकीहाल्छ पनि। प्रश्न आउछ नेता रून किन नपाउने? पाईन्छ, मज्जाले रून पाईन्छ तर मिडीयबाजी प्रचारबाजी गर्नाका लागी होईन। साच्चैनै, देशका प्रधानमन्त्री र अरू उच्च पदस्थ नेताहरूलाई रून मन लागेको भए जानुस, सरकारी अस्पताल, बस्नुस एकॉध घण्टा दुरदराजबाट आएका बिरामी र बिरामीका आफन्तसँग। अनि रूनुस मज्जाले, यसमा तपाईको रूने ईच्छा पनि पुरा हुन्छ, बिरामीका आफन्तले पनि केही सान्तवना महसूस गर्छन्। यतिले पुगेन, जानुस बसपार्क वरीपरी र अझै नपुगेमा जानुस् तराई, पाहाड देखी हिमालका दुरदराज गाऊँहरू। ल तपाईलाई टाँडा जान मन लागेन, ठीक छ जानुस नजिकैको गाऊँ भक्तपुर, जाहॉ बाढीले भर्खर तहसनहस पारेको छ साथै केहीको मृत्यु पनि भएको छ। देशको प्रधानमन्त्री रून र गालीगलौजमा उत्रिन भन्दा बिकासका काम गर्न, जनतालाई छिटो छरीतो सेवा दिन र निती नियम तर्जुमा गर्नमा आफ्नो उर्जा खर्च गर्नुस।रूने र गालीगलौज गर्ने जिम्मा त तपाईकै पार्टीमा आयातीत नेताहरू र त्यतीले नपुगेमा प्रतिपक्षी लगायत अरू दलका नेताहरूलाई दिनुस।तर प्रधानमंन्त्री भएर रोएर बस्ने छुट छैन।

अन्तमा, डा. गोबिन्द के. सी. को प्राण रक्षा हेतु जुम्लाबाट उठाएर काठमाण्डू ल्याउनु भयो। तर प्रधानमन्त्री ज्यूँ , यो उठाई प्राण रक्षा भन्दा सत्ता रक्षाको लागी हो भन्ने कुरा दुरदुराजका गाउलेले पनि बुझेका छन्। रक्षा गर्नु थियो भने त जुम्ला नजाने बाताबरण बन्नथ्यो होला।अनि सन्की बुढा सन्केर जुम्ला पुगे पनि समयमै बार्ता कमीटी बनेर सम्स्या समाधान हुन्थ्यो होला।याहॉ त “नरहेगा बास नरहेगा बाँसुरी” भन्ने उखानलाई पुरा गर्न भरमग्दुर कोशीस गरिदैछ। नत्र त सन्की बुढाको अगाडी गएर प्रधानमंन्त्री हुदा र नहुदा बखत गरेका सम्झौताहरू कार्यान्वयन हुन्थे होलान।

 



प्रतिक्रिया दिनुहोस्