Logo

हाम्रो प्रदेशमा हत्या र बलात्कारका घटना बढेको छ : मन्त्री शाहा



साउन १३, काठमाण्डौ । प्रदेश नम्बर सातका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले अपराधिक गतिविधीहरु बढेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री शाहाले हत्या, बलात्कार लगायतका जघन्य घटनाहरु बढिरहेको बताएका हुन् ।

घटना बढेसँगै अनुसन्धान गर्ने र कानुनी दायरामा ल्याउने कामलाई पनि प्रदेश सरकारले बढाएको उनले बताए ।

कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको थियो । भीमदत्त नगरपालिका–१८, निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको हो । पन्तको आफ्नै घरनजिक उखुबारीमा बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टी गरेको हो । उक्त घटना साउन १० गतेको हो ।

मन्त्री शाहाले खुलेआम आफ्नो प्रदेशमा हत्या र बलात्कारका घटना बढेको अभिव्यक्ति दिए पनि यस घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन भने सकेका छैनन् ।

पन्तको बलात्कार र हत्याको घटनामा संलग्न अपराधीलाई तिब्र रुपमा खोजी गरिएको मन्त्री शाहाले दाबी गरे ।

प्रदेशको जिम्मेवार मन्त्रीले ऋषि धमलासँगको कुराकानीमा यतिसम्म भने कि जुन यहाँ प्रस्तुत गरिएको छ ।

“कैलाली कञ्चनपुरमा विगत केही महिनायता सिलसिलेवार तरिकाले हत्या र बलात्कारका घटना बढिरहेका छन् । असाढ ३२ गते कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ मा १७ वर्षीय कविता विष्टको पनि हत्या भएको थियो । असाढ १२ गते केशव कार्कीले आफ्नै श्रीमती सिता कार्कीको फरुवाले हानेर हत्या गरेका थिए । कैलालीको गौरीगंगा नगरपालिकामा ११ मा असार १२ गते ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको थियो । पुनरवास नगरपालिका २ बस्ने लक्ष्मी बडेलाले आफ्नै प्रेमी दिपकसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गराएकी थिइन् ।”

कतिपय घटनामा प्रदेश प्रहरीले सफलतापूर्वक अनुसन्धान गरेर दोषीलाई कानुनी कठघरमा ल्याएको मन्त्री शाहाको दाबी छ ।

हरेक अपराधिक घटनामा संलग्नलाई कारबाही गर्न प्रदेश सरकार प्रतिवद्ध भएर लागेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्