काठमाडौं, १४ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय नगरी संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ ।
समितिको बैठक आज बसेपनि कुनै निर्णय भएन । स्रोतका अनुसार जोशीलाई प्रधानन्यायाधीश बनाउने वा नबनाउने आज निर्णय लिन नसक्नुको कारण रहेको छ ।
कांग्रेसलाई पनि सहमतिमा ल्याएर उनलाई प्रधानन्यायाधीश नबनाउने समितिको तयारी रहेको छ । अर्को विकल्प कांग्रेसकै सहमतिमै उनलाई प्रधानन्यायाधीश बनाउनपनि विकल्प समितिको तयारी रहेको स्रोतको दाबी छ ।
जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुन सकेन । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले थप छलफल गर्नु आवश्यक भएको हुँदा बैठक बुधबार दिउँसो ३ः३० बजे बस्ने गरी स्थगित भएको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए ।
जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टाचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित्तबुझ्दो जवाफ नदिएको र कतिपय प्रश्नको जवाफ नै नदिएको समितिका सदस्यहरुको ठम्याइ छ ।
भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशीले कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् ।