Logo

भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको स्वास्थ्य चिन्ताजनक



साउन ३१, नयाँ दिल्ली । भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको स्वास्थ्य चिन्ताजनक बनेको छ । उनी उपचाररत रहेको अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स) ले बुधबार साँझ विज्ञप्ती जारी गर्दै स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको र उनलाई ‘लाइफ सपोर्ट’ मा राखिएको जनाएको छ ।

उनको उपचारमा एम्सका निर्देशक डा. रणदीप गुलेरिया नेतृत्वको टोली संलग्न छ । गुलेरिया तीन दशक बढी समय बाजपेयीको निजी चिकित्सक समेत रहिसकेका छन् ।

निष्ठावान राजनीतिज्ञको परिचय बनाएका ९३ वर्षीय राजनीतिज्ञ बाजपेयीलाई मिर्गौला, छाती र पिसावसम्बन्धी समस्या देखिएपछि गत ११ जुनमा अस्पताल भर्ना गरिएको थियो । सन् २००९ मा ‘हर्ट अट्याक’ भएपछि स्वास्थ्यकै कारण उनी सक्रिय राजनीति र सार्वजनिक कार्यक्रमहरुबाट टाढा बस्दै आएका थिए ।

वाजपेयीको स्वास्थ्य नाजुक बनेसँगै उपराष्ट्रपति एम वैंकया नायडु उनको स्वास्थ्य अवस्था बुझ्न बिहीबार बिहानै अस्पताल पुगेका छन् । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य मन्त्रीहरु पनि बुधबार साँझ नै अस्पताल पुगेका थिए ।

दुई पटक भारतको प्रधानमन्त्री बन्न सफल बाजपेयी भद्र र शालीन राजनीतिज्ञका रुपमा चिनिन्छन्। र, तार्किक भाषणशैली लागि पनि उनको विशिष्ट परिचय छ । प्रधानमन्त्रीको पाँच वर्षे कार्यकाल पूरा गर्ने उनी एकमात्र गैर कंग्रेसी नेता पनि हुन् । उनले १९९९ देखि २००४ सम्मको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका थिए ।

कानपुरको डिएभी कलेजबाट राजनीतिशास्त्रमा स्नातकोत्तर बाजपेयी पहिलो पटक सन् १९९६ मा एनडीएको तर्फबाट भारतका दशौं प्रधानमन्त्री बन्न सफल भएका थिए । तर, संसदमा बहुमत साबित गर्न नसकेपछि उनले १३ दिनमै राजिनामा दिनु परेको थियो । राजीनामा दिनेक्रममा उनले संसदमा दिएको मन्तव्यले निकै वाहवाही पाएको थियो ।



प्रतिक्रिया दिनुहोस्