प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीको हिजोको सम्बोधनलाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन् । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले सबै कुरा समेटेको राउतको दाबी छ । पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसका लागि गरेको कुराकानीमा उनले यस्तो बताएका हुन् । कुराकानीको सम्पादित अंश :
हिजो प्रदेश नम्बर २ को संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनलाई कसरी लिनुभएको छ ?
मैले सकारात्मक रुपमा लिएको छु । राम्रो थियो । समेट्नुपर्ने कुराहरु समेट्नुभएको थियो । सबै कुराहरु समेटेर आफ्ना कुराहरु राख्नुभएको थियो ।
उसो भए प्रधानमन्त्रीले गरेको सम्बोधनबाट तपाई खुशि हुनुहुन्छ ?
उहाँले मुलुक संघीयता कार्यान्वयनको पहिलो चरणमा छ भन्नुभयो । अहिले संघीयतालाई कार्यान्वयन गर्नेमा जुट्नुपर्ने बताउनुभएको छ । राम्रै सोचकासाथ अघि बढुनुपर्नेमा जोड दिनुभएको छ । संविधान गतिशिल दस्तावेज भएको भन्दै कुनै कुराण, गीता, बाईवल नभएकोसमेत उल्लेख गर्नुभएको थियो ।
आवश्यकत्ता र औचित्य अनुसार संविधान संशोधन गर्ने आश्वासन दिनुभएको छ । विकास निर्माणका कार्यहरुमा केन्द्रिय सरकारले साथ दिने वचन दिनुभएको छ । विकास निमार्णका कामहरुबारे योजनाहरु ल्याउनुहोस् सहयोग हुन्छ भन्नुभएको छ । नागरिकता, कृषिमा आधुनिकिरण, शिक्षा, स्वास्थ्य, रोजगार, गरिवीको निवारण गर्ने लगायतका कुराहरु महत्वकासाथ लिएको जानकारी दिनुभयो ।
संविधान संशोधन हुने भयो ?
दुई नम्बर प्रेदशको संसदमा उहाँले गर्नुभएको संम्बोधनले संविधान संशोधन हुन्छ । संविधानमा नसमेटिएका कुराहरुलाई समेटेर अघि बढ्ने वचन दिनुभएको छ । त्यो सकारात्मक कुरा हो । गतिशिल दस्तावेज भएको भन्दै पटक–पटक संशोधन हुने कुरा बोल्नुभएको छ । मलाई त लागेको थियो किन केन्द्रीय सरकार संविधान संशोधन गर्न चाहेको छैन् । तर त्यो सत्य होईन रहेछ भन्ने कुरा प्रधानमन्त्रीज्यूले स्पष्ट पार्नु भएको छ । वर्तमानले संविधान केही बाधा सिर्जना गरेको छ भन्ने हाम्रो मागलाई सम्बोधन हुने खालको वचन दिनुभएको छ ।
प्रधानमन्त्रीले त संविधानमा विभेद छ भने देखाउनुहोस् पनि भन्नुहोस् भनेर भन्नुभएको छ नि ?
त्यस्तो भन्नु भएको होईन । समाज पछिसम्म पनि विभेद हुनुहुँदैन । उहाँलेपनि यहि कुराहरु बोल्नुभएको छ । दुई नम्बर प्रदेशका जनताहरुले उहाँलाई हेर्ने दृष्टिकोण प्रष्ट भएको छ । संविधान संशोधनमा प्रधानमन्त्रीनै सकारात्मक हुनुहुन्नकी भन्ने प्रश्न थियो तर त्यो भ्रम हटाउनु भएको छ । संविधान संशोधन गर्न प्रतिबद्ध छु भन्नुभएको छ, यहाँको विकास र उन्नतिको लागि हमेसा साथ दिने वचन दिनुभएको छ ।
संघीयता कार्यान्वयन गर्न अलि कठिन हुँदैछ, नयाँ जुक्ता लगाउँदा केही असहता हुन्छ तर पछि विस्तारै आकार फिट हुन्छ, संघीयता पनि यस्तै हो, नयाँ व्यस्था अनुसार मुलुकलाई अघि बढाउदा यस्ता केही समस्याहरु आईहाल्छन् । सबैले आफ्नो ठाउँबाट मुलुकको विकास र समृद्धि गर्न साथ र सहयोग गर्नुपर्छ भन्नुभएको छ ।
उसो भए प्रधानमन्त्रीले मधेशी जनताको मन जित्नुभयो ?
आफ्ना कुराहरु राख्नुभएको थियो । मन जित्ने कुरा थिए । काम हुनुपर्यो । संघीयताको कार्यान्वयनमा केही असहजता आउँछन् । संघीयता कार्यन्वयनमा गैसकेपछि कसैले रोक्न नसक्ने कुरापनि स्पष्ट रुपमा राख्नुभयो । संविधान संशोधन, मधेशको विकास, नागरिकताको समस्या, शिक्षा, स्वास्थ्यको बारेमा उहाँले स्पष्टता देखाउनु भएको छ ।
मधेशी दलहरुले उठाएका मागहरु जायज छन् भन्नेमा प्रधानमन्त्री पुग्नु भयो होईन त ?
उहाँले पटक–पटक बोल्नु भएका र वचन दिनुभएका कुराहरुलाई आधार मान्ने हो भने मधेशको विकास एकमात्र मुलुकको विकासको मुख्य आधार हो भन्नेमा उहाँ हुनुहुन्छ । हामीले उठाउँदै आएको कुरा प्रधानमन्त्रीलेसमेत बोल्नु भएपछि म खुशी नहुने कुरा हुन्छ ? म त एकदमै खुशी छु ।
मधेशप्रति प्रधानमन्त्री ‘यूटर्न’ हुनुभएको हो ?
उहाँले हिजोका दिनमा के भन्नुभयो ? के गर्नुभयो म त्यतातिर जान चाहन्न । हिजो उहाँ मधेशप्रति सकारात्मक देखिनुभयो । उहाँले मधेशी जनताको आवाज बोल्नुभएको छ ।
उसो भए राजपाका सांसदहरुले किन उहाँको सम्बोधन बहिष्कार गरे ?
केन्द्रीय नेतृत्वले भनेको अनुसार उहाँहरुले त्यस्तो गर्नुभयो । केही कुरामा चित्त नबुझेको होला । म त्यसको बारेमा केही भन्न चाहँन्न ।
प्रधानमन्त्रीले सम्बोधन गर्दैगर्दा निस्किन मिल्छ ?
बोल्नुभन्दा पहिलेनै उहाँहरुले केही कुरा राख्नुभएको थियो । मधेशप्रतिको आक्रोश थियो ।
प्रदेश नम्बर दुईको सरकार खतरामा पर्यो ?
छैन् । किन पर्नु ? केन्द्रीय नेतृत्व सकारात्मक छ ।