Logo

आजदेखि अनिश्चितकालका लागि फलफूल तथा तरकारीको आपूर्ति र बिक्री ठप्प



काठमाडौं ५ भदौ । नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघले आजदेखि अनिश्चितकालका लागि देशभर फलफूल तथा तरकारीको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा सोमबार बिहान सरकारले अनुगमनको क्रममा पक्राउ गरेका ब्यापारीलाई रिहा गर्नुपर्ने माग राख्दै महासंघले आजदेखि देशभरका बजारमा फलफूलको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बिज्ञप्ती निकालेर किसानको तरकारीमा बील बिजक नभएको अभियोगमा महासंघका महासचिव भरतप्रसाद खतिवडालाई तत्काल रिहा गर्न माग गर्दै तरकारीको आपूर्ति र बिक्री ठप्प पार्ने घोषणा गरेका हुन् ।

‘किसानले बजारमा बिक्रीका लागि ल्याउने तरकारीको किसान स्वयमले बील जारी गर्ने अवस्था नेपालमा नभएको अवस्थामा किसानको तरकारी र बिक्री गर्ने ब्यापारीलाई नियन्त्रणमा लिन नपाइने ब्यवसायीको दावी छ ।

सोमबार बिहान कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा उद्योग, वाणिज्य र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले तरकारी बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा तरकारीको बील नभएको अभियोगमा एकजना ट्रक चालक र आन्दोलनमा उत्रेका व्यापारीलाई पक्राउ गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्