काठमाडौं, ९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच खटपट सुरु भएको छ ।
पछिल्लो समय प्रधानमन्त्री ओलीका गतिविधि तथा निर्णयहरु एकपछि अर्को गर्दै विवादमा फसकेको भन्दै पार्टीका अर्का अध्यक्ष प्रचण्डले आज बसेको पार्टीको सचिवालय बैठकमा ओलीबारे कडा आलोचना गरेको स्रोतको दाबी छ ।
कञ्चनपुरको घट्नाबारे विश्लेषण र निर्णय गर्न बसेको नेकपा सचिवालयको बैठकमा प्रचण्डले प्रधानमन्त्री ओलीका निर्णयहरु विवादमा फसेको र जनतामा सरकारप्रति निराशामात्रै छाएको आरोप लगाएका थिए । प्रचण्डको भनाई उद्धृत गर्दै नेकपाका एक नेताले भने,‘सरकारले सही दिशा समात्न सकेन् । एकपछि अर्को गर्दै सरकार सबै कुरामा फसेको छ । यसले जनतामा नैराश्यता पैदा गरेको छ।’
दुई तिहाईभन्दा बढि मतको सरकार हुँदाहुँदैपनि सरकारले अपेक्षित काम गर्न नसकेको प्रचण्डको गुनासो थियो । आफूले सार्वजनिक रुपमा सरकारको बचाउ गरेपनि यसले सही रुपमा काम गर्न नसकेको प्रचण्डको भनाई थियो । आज भने प्रचण्डले बैठकमै प्रधानमन्त्री ओलीको आलोचना गरे ।