काठमाडौं ११ भदौ । लालबकैया नदीस्थित रौतहट सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने टिकुलियाघाटको पुल ५ वर्षमा पनि बनिसकेको छैन । २०७४ असार २५ भित्र त्यो पुल निर्माण सक्नुपर्थ्यो । तर हालसम्म करिब ५० प्रतिशत मात्रै काम भएको छ ।
निर्माण कम्पनीको ढिलासुस्तीका कारण लालवकैया नदी तर्न स्थानीयलाई कठिनाइ हुने गरेको छ। २०७१ साल असार २६ गते यो पुल निर्माणका लागि पप्पु कन्सट्रक्सनले ठेक्का पाएको थियो । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले यो पुलेको शिलान्यास गरेका थिए । पुल नहुँदा लालबकैया नदीको टिकुलिया घाटमा पटक पटक डुंगा पल्टिने गरेको छ ।
पप्पु कन्सट्रक्सनले पुल बनाउन ढिला गरेको भन्दै स्थानीयले आलोचना गरेका छन । स्थानीय युवा सञ्जय सहनीले समयमा पुल नबनेकाले डुंगा पल्टिएको बताएका छन ।
शनिवार साँझ पुलको पिलरमा डुंगा ठोक्किएर २९ जना बेपत्ता भएका थिए । जसमध्ये पाँचजनाको डुबेर ज्यान गएको छ । पाँचजना गाउँलेको ज्यान गएपछि टिकुलियाबासी ठेकेदारसँग आक्रोशित छन् ।
शनिवार निमार्णाधिन पुलको पिलरमा ठोक्किएर डुंगा दुर्घटना भएको हो । डुंगामा सवार २९ मध्ये २४ जना बाँच्न सफल भएका । अहिलेसम्म्म दुईजनाको शव फेला परेको छ भने अझै तीनजना हराइरहेका छन् । २०६२ सालमा पनि यही स्थानमा डुंगा पल्टिएर १२ जना भन्दा धेरैको ज्यान गएको थियो ।
स्थानीयबासीले पुल निर्माण सम्झौता भित्रै सक्न दबाब दिए पप्पुले अटेर गर्दै आएको छ । निर्माण अवधिभन्दा दुई वर्ष बढी भइसक्दा पनि पिलर मात्रै ठड्याइएको छ । उक्त पुल २ सय ३८ मिटर लामो छ भने ६ वटा स्पर रहेका छन् ।
५ वर्षमा पुलको पिलर मात्रै उठाइएको छ भने एउटा स्परमा ढलान सुरु गरिएको छ । पुल नबन्दा बन्जहरा, औरैया, मठिया, जोकाहा, जेठरहियया लगायत स्थानका बासिन्दा डुंगा चढेर सदरमुकाम गौर आवतजावत गर्न बाध्य छन् । अन्नपूर्णपोष्टबाट