Logo

बिमस्टेक सम्मेलनमा यस्तो छ सुरक्षा व्यवस्था, ४ वटै निकायका सुरक्षाकर्मी सडकमा



भदौ १३, काठमाण्डौ । बुधवारबाट राजधानीमा सुरु हुने बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनलाई लक्षित गर्दै ४ वटै सुरक्षा निकायका करिव १८ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

विमस्टेकको वर्तमान अध्यक्ष राष्ट्र नेपालले पहिलो पटक आयोजना गर्ने यो सम्मेलनलाई सुरक्षाको दृष्टिकोणबाट चुस्त बनाउन सरकारले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र र राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति परिचालन गर्दैछ । सम्मेलनस्थल होटल सोल्टीमा अहिले सेनाको कमान्डमा सुरक्षाकर्मी परिचालन भइसकेका छन भने राजधानी उपत्यकाको सुरक्षा ब्यवस्था सोमबार बिहानबाट कडा बनाइएको छ । सुरक्षाका लागि चार घेराको विधि अपनाइएको छ ।

पहिलो घेरामा सेना, दोस्रोमा प्रहरी, तेस्रोमा सशस्त्र र चौथोमा अनुसन्धानले घेरा हाल्नेछ । सोमबारदेखि नै सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाडौं उपत्यकामात्र हैन नेपाल–भारत खुल्ला सिमानाका कारण सुरक्षामा असहजता नआओस् भन्ने उद्देश्यले दुईदेशबीचका मुख्य नाकामासमेत सुरक्षा निगरानी बढाइएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र बिमानस्थल हुँदै ओहोर–दोहोर गर्ने यात्रुहरुको निगरानी पनि बढाइएको छ । बिमानस्थलमा अनावश्यक भीडभाड नहोस् भन्ने अभिप्रायले बिमानस्थल प्रवेश गर्ने मुख्य गेटबाट यात्रुलाई मात्र बिमानस्थल प्रवेश गर्न दिइएकोे छ । बिमस्टेकको सुरक्षाका लागि सबैभन्दा बढी नेपाल प्रहरीका सुरक्षाकर्मी खटिँदै छन् ।

विमस्टेकलाई लक्षित गरी नेपाल प्रहरीका झण्डै ९ हजार सुरक्षाकर्मी खटिने छन् । त्यसैगरी नेपाली सेनाबाट झण्डै ५ हजारको हाराहारीमा सैनिक परिचालन गरिएको छ । सशस्त्र प्रहरीबाट ३ हजार ५ सय र राष्ट्रिय अनुसन्धानबाट ५ सयभन्दा बढी सुरक्षा अधिकारी खटाइएको छ ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने अति विशिष्ट पाहुनाको सुरक्षाका लागि सडकमा समेत सीसीटीभी जडान गरिएका छन् । विमानस्थल देखी उनीहरु चढेको गाडी गुड्ने सडक, बस्ने होटल र सम्मेलनस्थल २ सयभन्दा बढी सीसीटीभी जडान गरिएको छ। अति विशिष्ट पहुनाहरु हिड्दा सवारी रुटमा मोबाइल सिग्नल अवरुद्ध बनाउन ज्यामर उपकरण प्रयोग गरिने छ । त्यसका लागि नेपाल टेलिकमले काम थालिसकेको छ ।

त्यस्तै नेपाल प्रहरीले सुरक्षा जाँचका लागि चाहिने उपकरण पनि जडान गरिसकेको जनाएको छ । सम्मेलनमा भाग लिन आउने विशिष्ट पाहुनाका लागि आवतजावत गर्न बुलेटप्रुफ मोटर प्रयोग गरिने छ ।



प्रतिक्रिया दिनुहोस्