Logo

राष्ट्रिय सुरक्षा नीति संशोधनका लागि प्रस्ताव तयारी गर्न समिति गठन



काठमाडौँ, १ असोज । राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रिय सुरक्षा नीति २०७३ संशोधन÷परिमार्जनको प्रस्ताव तयार गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज परिषद्मा बसेको बैठकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधि र विज्ञसम्मिलित समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले परिवर्तित सन्दर्भमा परिषद्को सचिवालयको सुदृढीकरण गर्न यसको पुनःसंरचना गर्ने काम अगाडि बढाउने निर्णयसमेत गरेको छ । सुरक्षा परिषद्ले नेपालको राष्ट्रिय सुरक्षा र हित विषयमा एकदिवसीय गोष्ठी गर्ने निर्णय पनि गरेको छ ।

बैठकले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने मस्यौदालाई पनि अन्तिम रुप दिने निर्णय गरेको रक्षा मन्त्रालयका प्रवक्ता ऋषिराज भण्डारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिवेदनमा राष्ट्रिय सुरक्षा परिषद् र परिषद् सचिवालयबाट सम्पादन भएका काम उल्लेख हुने बताइएको छ । नेपालको संविधानमा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि मन्त्रिपरिषद्लाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने व्यवस्था रहेको छ ।

रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति सदस्य रहेको परिषद्को सदस्य सचिवमा रक्षा मन्त्रालयका सचिव रहने व्यवस्था रहेको छ । सुरक्षा परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्समक्ष पेश गर्न लगाउने संवैधानिक व्यवस्था छ । (रासस)



प्रतिक्रिया दिनुहोस्